सिरियाली शान्ति प्रक्रिया जोगाउन आह्वान

  • 28 एप्रिल 2016
मिस्टुरा
Image caption मिस्टुराको सिरियाको संकटबारे सुरक्षा परिषदलाई जानकारी गराउनुअघि पत्रकारहरुसँग कुराकानी गरेका थिए।

सिरियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत स्टेफान ड मिस्टुराले सिरियाली शान्ति वार्तालाई बचाउन अमेरिका र रुसलाई तत्काल उच्चस्तरीय कदम चाल्न आग्रह गरेका छन्।

राष्ट्रसंघीय सुरक्षा परिषदलाई त्यसबारे जानकारी गराउनु पूर्व बोल्दै मिस्टुराले सिरियाली युद्धविराम मुस्किलले पालना भइरहेको र त्यो कुनै पनि बेला तोडिन सक्ने बताए।

मिस्टुराले भने, “अर्को चरणको वार्ता केही समय पछि हुनेछ किनभने हामी यो गतिलाई रोक्न चाहादैनौं। तर सत्रुता अन्त्यको प्रयासमा कमी आउनु हुँदैन र त्यो गत फेब्रअरी र मार्च महिनाको जस्तो तहमा हुनु पर्छ।”

उनले मे महिनामा जिनिभामा सिरियाली शान्ति प्रक्रियाबारे वार्ता हुने सम्भावना रहेको बताए।

युद्धविराम सम्झौता बारम्बार मिचिएको भन्दै सिरियाली विपक्षी समूहले गत सातादेखि वार्ता बहिष्कार गरेको हो।

आक्रमण

सिरियाली शहर एलेप्पोबाट प्राप्त खबरहरुमा भनिएको छ सरकारी फौजले एक अस्पताल र नजिकैका भवनहरुमा गरेको आक्रमणमा परी कम्तीमा १६ जना गैरसैनिक व्यक्तिहरुको मृत्यु भएको छ।

तस्वीर कपीराइट AFP
Image caption एलेप्पो शहरमा भएका आक्रमणमा कयौं गैरसैनिक व्यक्ती मारिएका छन् ।

‘ह्वाइट् हेल्मेट’ भनिने नागरिक सुरक्षा स्वयंसेवकहरुले फ्रान्सेली समाचार सस्थालाई बताए अनुसार मारिएकाहरुमा केटाकेटी र अस्पतालका एकमात्र बालरोग विशेषज्ञ समेत रहेका छन्।

सिरियामा पछिल्ला केही सातायता चर्किंदो हिंसामाझ खासगरि हवाई आक्रमणहरुमा कयौं गैरसैनिक मानिसहरुको ज्यान गएको छ।