सिरियामाथि रुसको दबाब आवश्यक: केरी

  • 29 एप्रिल 2016
aleppo तस्वीर कपीराइट AFP
Image caption सिरियाली शहर अलेप्पोमा गम्भीर मानवीय संकट उत्पन्न भएको अधिकारीहरुले चेतावनी दिएका छन्

अमेरिकी विदेशमन्त्री जन केरीले गैरसैनिकमाथिको आक्रमण रोक्न सिरिया सरकारमाथि तत्काल दबाब दिने दायित्व रुसको भएको बताएका छन्।

अलेप्पो शहरमा बालबालिका र चिकित्सकको ज्यान जाने गरी हवाइ हमला भएपछि अमेरिका क्रुद्ध बनेको छ।

संकट

केरीले सिरिया सरकारमाथि तत्काल दबाब दिएर उसलाई आंशिक युद्धविरामको पालना गर्न लगाउने दायित्व रुसमाथि रहेको बताएका हुन्।

अलेप्पोमा चिकित्सक र बालबालिकाहरुको ज्यान जाने गरी एउटा अस्पतालमा भएको हवाइ आक्रमण नियोजित भएको उनले दावी गरे।

उक्त अस्पतालको भग्नावशेष हटाइरहेका उद्धारकर्ताहरुले सरकारी आक्रमणबाट कम्तीमा २५ जनाको ज्यान गएको बताएका छन्।

‘ह्वाइट हेलमेटस्’ नामक समूहका सदस्यहरुले बम हमला भएको २४ घण्टायता भग्नावशेष हटाइरहेका छन्।

सरकार र विद्रोही दुवैको नियन्त्रणमा रहेका अलेप्पोका भागहरुमा पछिल्लो एक सातामा २ सय जनाभन्दा बढी मानिसको ज्यान गएको अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय रेडक्रसका पावेल क्रिजसिकले पूरा शहर अत्यन्तै ठूलो मानवीय विपदको संघारमा रहेको उल्लेख गर्दै भने, “एक सातायता पूरा अलेप्पो शहर नै जलिरहेको छ। मानिसहरु तनावमा छन्”।

राष्ट्रसंघीय मानवीय सहायता प्रमुख स्टेफेन ओ ब्रायनले रुस र अमेरिकालाई भंग हुंदै गरेको संघर्षविरामको सम्झौता जोगाउन अपिल गरेका छन्।

उनले सिरियामा अहिले जारी संकटबाट विश्वलाई लाज लाग्नुपर्ने बताए।