आफ्नै नेतृत्वमा सरकार: एकीकृत माओवादी

  • 4 मे 2016
oli तस्वीर कपीराइट Reuters
Image caption प्रधानमन्त्री केपी ओलीलाई पनि प्रचण्डले भेटेर आफूलाई सहयोग गर्न भनेको खबरहरु छापामा आएका छन्

एकीकृत माओवादीले आफ्नै नेतृत्वमा नयां सरकार गठन गर्ने औपचारिक निर्णय गरेको छ।

बुधबार बिहान बसेको उक्त दलको पदाधिकारी बैठकले एमाले नेतृत्वको वर्तमान सरकारले शान्ति प्रक्रियाका बांकी कार्यभार, संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण लगायतका मुद्दामा परिणाममुखी काम नगरेको भन्दै विकल्प खोज्ने निर्णय गरेको हो।

अपिल

बैठकपछि जारी एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको नाममा जारी वक्तव्यमा प्रमुख विपक्षी नेपाली कांग्रेसले समेत आफूहरुको नेतृत्वमा सरकार गठन गर्न सहमति जनाएको भन्दै अहिलेको सत्ता सहयात्री दलहरुलाई समेत आफूलाई समर्थन गर्न अपिल गरिएको छ।

तर आफै सहभागी अहिलेको सरकारबाट माओवादी कहिले बाहिरन्छ भन्नेबारे प्रष्ट भइसकेको छैन।

एकीकृत माओवादी आफैले राष्ट्रिय स्वाधीनताको रक्षाको लागि लडेको भनेर विगतमा व्याख्या गर्ने गरेको वर्तमान सरकार उक्त मुद्दामा पनि चुकेको निचोडमा अहिले उक्त दल पुगेको जस्तो देखिन्छ।

बुधबारै एमालेको स्थायी कमिटी बैठक पनि बसेको थियो।

उक्त बैठकले अहिलेकै सरकारलाई राष्ट्रिय स्वरुपको बनाउन पहल गर्ने निर्णय गरेको नेताहरुले बताएका छन्।