बांग्लादेश: विपक्षी नेतालाई मृत्युदण्ड

  • 11 मे 2016
तस्वीर कपीराइट AFP

बांग्लादेशको सबैभन्दा ठूलो इस्लामवादी पार्टी जमाते इस्लामीका नेता मोतिउर रहमान निजामीलाई मृत्युदण्ड दिइएको छ।

जमाते इस्लामीका नेता निजामीलाई युद्धका क्रममा आम नरसंहार, बलात्कार र यातनामा संलग्न भएकोमा दोषी ठहर्याइएको थियो।

उनलाई ढाकास्थित केन्द्रिय कारागारमा झुण्ड्याएर मृत्यदण्ड दिइएको अधिकारीहरुले जनाएका छन्।

पाकिस्तानसँगको स्वतन्त्रताको क्रममा भएको युद्धमा लाखौँ मानिसले ज्यान गुमाएका थिए।

द्वन्द्व

बांग्लादेश सरकारले स्थापना गरेको एउटा विशेष ट्राइब्युनलले सन् २०१४ मा उनलाई आम नंरसहार, बलात्कार र यातना जस्ता युद्धअपराधमा दोषी ठहर गरेको थियो।

तस्वीर कपीराइट Reuters

उनको जमाते इस्लामी पार्टीले पाकिस्तानबाट बांग्लादेश स्वतन्त्र हुने निर्णयको विरोध गरेको थियो।

ढाकाबाट बीबीसीका अकबर हुसेन भन्छन्, “युद्ध अपराध विरुद्धका कारबाहीको पक्षमा रहेका विभिन्न समूह र पीडीतका परिवारले मृत्युदण्डप्रति समर्थन गरेका छन् र स्वतन्त्रताको ४५ बर्षपछि न्याय पाएको ठानेका छन्। तर निजामीका समर्थकहरुले युद्ध अपराधमाथीको सुनवाईलाई बाग्लादेशको सबैभन्दा ठूलो इस्लामवादी पार्टीलाई ध्वस्त बनाउन चालिएको कदम बताउने गरेका छन्।”

निजामी सन् २०१३ यता युद्ध अपराधमा मृत्युदण्ड दिइएका पाँचौँ एवं सबै भन्दा उच्च पदस्थ विपक्षी नेता हुन्।

विवाद

बांग्लादेशले द्वन्द्वका घाउहरुमा मलम लगाउन ती सजायहरु दिइएको बताउने गरेको छ।

तर अधिकारवादी समूहहरुले अदालती सुनावाईले विश्वव्यापी मापदण्ड पालना नगरेको र त्यसमाथि अन्तर्राष्ट्रीय निगरानीको अभाव रहेको बताउँदै आएका छन्।

आफू बिरुद्धको सजायमाथि उनले गरेको अन्तिम अपिल अघिल्लो हप्ता पराजित भएको थियो।

राष्ट्रपति अब्दुल हमिदसँग आममाफीको लागी निवेदन दिन अस्विकार गरेपछि उनलाई मृत्युदण्ड दिइएको थियो।

मृत्युदण्डको विरोधमा जमाते इस्लामीले बंग्लादेशमा बुधवार देशव्यापी आमहडतालको आह्वान गरेको छ।