महाभियोग प्रकृया गलत: जिल्मा रुसेफ

  • 12 मे 2016
तस्वीर कपीराइट AFP

ब्राजीलमा सिनेटले पदबाट निलम्बन गरी महाभियोगको प्रकृयालाई अघि बढाउने पक्षमा मतदान गरेपछि बोल्दै राष्ट्रपति जिल्मा रुसेफले त्यस विरुद्ध सबै कानूनी संघर्ष गर्ने बताएकी छिन्।

उनले आफूलाई निलम्बन गर्ने सिनेटको निर्णय 'सत्ता विप्लब' जस्तै भएको भन्दै त्यस्तो कार्य दोषपूर्ण भएको बताएकीछिन्।

उनले आफूले कुनै गलत कार्य नगरेको भन्दै आफूलाई निलम्बन गर्ने कार्यले देशलाई स्थायी अस्थीरतामा धकेल्ने पनि बताइन्।

सिनेटले राष्ट्रपतिलाई निलम्बन गरे पछि ब्राजीलमा उपराष्ट्रपति मिशेल टेमेर कार्यवाहक सरकार प्रमुख बनेका छन्‌।

मतदान

तस्वीर कपीराइट

बुधबार रातभरि समेत लगाएर बीस घण्टासम्म चलेको बहसपछि ब्राजीलको सिनेटले राष्ट्रपति जिल्मा रुसेफलाई निलम्बन गरी उनी विरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेको थियो।

सिनेटका सबै ७१ जना सदस्यहरु उपस्थित भएर आफूलाई दिइएको १५ मिनेटको समयको सदुपयोग गर्दै राष्ट्रपतिको पक्ष र विपक्षमा आफ्नो धारणा राखेका थिए। जिल्मा रुसेफविरुद्ध उनले वित्तीय कानून तोडेको, नेतृत्व प्रदान गर्न विफल भएको र अर्थतन्त्रलाई क्षति पु-याएको आरोप लगाइएको छ।

जिल्मा रुसेफले आफू विरुद्धका कार्वाहीहरुलाई रोक्ने अन्तिम प्रयासमा सर्वोच्च अदालतमा अपील समेत गरेकी थिइन्, तर उनको निवेदनलाई अस्वीकार गरिएको थियो। निलम्बनमा परेसंगै उनको वर्कर्स पार्टीको १३ बर्षे शासनकालको पनि अन्त्य भएको छ।

'कु'

६८ बर्षीया जिल्मा रुसेफ सन् २०११मा पहिलोपल्ट राष्ट्रपति बनेकी थिइन्। सन् २०१५ मा दोस्रो कार्यकाल आरम्भ गरेकी उनले आफूलाई हटाउने कदमलाई एउटा 'कु' को संज्ञा दिएकी छिन्।

तस्वीर कपीराइट AFP

महान्यायाधिवक्ता होसे एडुवार्डो कार्डोजोले राष्ट्रपति विरुद्धको कदमको निन्दा गर्दै सिनेटरहरुले 'एकजना निर्दोष महिला'लाई अभियोग लगाएर उनी विरुद्ध ऐतिहासिक अन्याय भएको बताएका छन्।

सिनेटमा राष्ट्रपति विरुद्ध महाभियोगको प्रकृया अघि बढाउनका लागि प्रस्तुत गरिएका कारणहरु खास गरी आर्थिक छन्।

धेरैले देशको वर्तमान कमजोर आर्थिक अवस्थाका लागि राष्ट्रपतिलाई दोष दिएका थिए।

ब्राजीलले दश वर्षयताकै सबैभन्दा खराब आर्थिक मन्दी बेहोरिरहेको छ, बेरोजगार दर नौ प्रतिशत पुगेको छ भने मुद्रास्फिती गत १२ बर्ष यताकै उच्च विन्दूमा पुगेको छ।