पुनर्निर्माणका लागि करीब साढे आठ खर्ब लाग्ने

  • 12 मे 2016
तस्वीर कपीराइट bbc

क्षतिग्रस्त घरका संख्या तथा सुरक्षित निर्माणको खर्च बढेकाले भूकम्पपश्चातको पुनर्निर्माणका निम्ति कूल अनुमानमा वृद्धि भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

भूकम्प गएलगत्तै गरिएको विपदपश्चातको आवश्यकता आँकलनमा करीब सात खर्ब रुपियाँ लाग्ने तोकिएको थियो।

तर एक वर्ष पश्चात गरिएको ताजा आँकलनमा भत्किएका घरहरुको संख्या धेरै पाइएको अनि शिक्षण संस्थालाई सुरक्षित हुने गरि पुनर्निर्माण गर्दा लाग्ने खर्च धेरै निस्किएको तथा महंगीका बढेको जस्ता कारणले अब त्यो अनुमान झण्डै ८ खर्ब ४० अर्ब रुपियाँ पुगेको देखाइएको छ।

उक्त कूल अनुमान मध्ये सबभन्दा धेरै निजी घर पुनर्निर्माणमा लाग्ने देखिएको छ।

त्यसका लागि पौने चार खर्ब लाग्ने अनि शिक्षण संस्था पुनर्निर्माणका लागि पौने दुई खर्ब लाग्ने अनुमान गरिएको छ।

ध्यान

पुनर्निर्माण कछुवाको गतिमा अघि बढेको भनेर आलोचित सरकारले अब सम्पूर्ण ध्यान निजी आवास निर्माणमा लगाउने बताएको छ।

उक्त योजनाबारे संसदमा बोल्दै प्रधानमन्त्री केपी ओलीले बर्खा अगावै सबैलाई सुरक्षित छानो मुनि ल्याउन सबभन्दा पहिले सामूहिक आवासमा जोड दिने बताए।

उनले संसदमा भने, “हामीले सबभन्दा पहिले खुला आकाशमुनिबाट छानामुनि ल्याउने प्रयास अघि बढाउने छौं। तत्कालका निम्ति सामुदायिक भवनका रुपमा काम गर्ने गरि सामूहिक आवासहरु तीव्रताका साथ बनाउन लागेका छौं। दुई वर्ष भित्र सबै निजी आवास बनाइसक्ने छौं।”

सरकारी भवन, अस्पताल र विद्यालयहरु तीन वर्षभित्र तथा पुरातात्विक महत्वका संरचनाहरु पाँच वर्षभित्र पुनर्निर्माण गरिसक्ने लक्ष्य उक्त योजनामा रहेको छ।

वाचा

गत वर्ष अन्तर्राष्ट्रिय समुदायलाई बोलाएर गरिएको सम्मेलनमा दाताहरुले त्यतिबेला आवश्यक भनिएको करीब सात खर्ब मध्ये सवा चार खर्ब रुपियाँ बराबर सहयोग गर्ने वाचा गरेका थिए।

जसमध्ये हालसम्म सवा दुई खर्ब बराबरको सहयोग आउने पक्कापक्की भइसकेको छ।

बाँकी सहयोगका लागि समेत दातृ निकायको सहयोग आवश्यक पर्ने भन्दै विहिबार प्रधानमन्त्री स्वयं उपस्थित भएर उनीहरुकै सामु पीडीआरएफ भनिने, पोष्ट डिज्यास्टर रिकभरी फ्रेमवर्क सार्वजनिक गरियो।

सोही कार्यक्रममा दातृ निकायका तर्फबाट बोल्दै विश्व ब्याँकका नेपालस्थित प्रमुख ताकुया कामाताले पीडिआरएफ बनाएकोमा बधाई दिंदै सहयोगको वाचा दोहोर्याए।

“हाम्रा सहयोग निरन्तर रहनेमा तपाईं ढुक्क रहनोस्। यो समय भनेको काम गर्ने अनि हामी मिलेर गरेका कामको प्रतिफल हेर्ने हो,” कामाताले भने।

पीडिआरएफ मा पुनर्निर्माणका कार्यलाई क्षेत्रगत छुट्ट्याई कुन काम, कहिले, कसरी, कति खर्चमा गरिने उल्लेख गरिएको छ।