घातक सुईमा प्रयोग हुने औषधिमा कडाइ

  • 14 मे 2016
pfizer तस्वीर कपीराइट Getty Images
Image caption अमेरिकी जेलहरुलाई मृत्युदण्डका लागि सुईमा प्रयोग हुने औषधि पाउन गाह्रो हुन थालेको छ

अमेरिकी औषधि कम्पनी फायजरले मृत्युदण्ड दिन प्रयोग गर्नबाट वञ्चित गर्न केही औषधिहरुको आपूर्तिमा कटौती गर्न लागेको घोषणा गरेको छ।

अमेरिका र युरोपका अन्य औषधि कम्पनीहरुले त्यस्तो निर्णय यसअघि नै लिइसकेकाले त्यस्ता घातक औषधि खुल्ला रुपमा बजारमा आपूर्ति गर्ने फायजर अन्तिम स्रोत रहदैं आएको थियो।

विकल्प

नैतिक वा व्यवसायिक कारण देखाउँदै सुईमार्फत दिइने त्यस्ता घातक औषधिको आपूर्तिमा कटौती गरेको घोषणा यसअघि नै अमेरिका र युरोपका २० भन्दा बढी औषधि कम्पनीले गरिसकेका थिए।

तर विश्वकै एउटा अग्रणी औषधि कम्पनीले मृत्युदण्ड दिन प्रयोग गरिने औषधिको आपूर्तिमा अन्य संघीय अनुमति पाएका आपूर्तिकर्ता जस्तै गरी अनुगमन गर्ने निर्णय गरेपछि अब मृत्युदण्डको सजायको व्यवस्था भएका राज्यहरु सामु त्यसलाई कार्यान्वयन कसरी गर्ने भन्ने चुनौती खडा हुने देखिन्छ।

त्यस्तो सजायको व्यवस्थालाई निरन्तरता दिने हो भने अनौपचारिक स्रोतहरुमा निर्भर हुनु बाहेक अन्य विकल्प उनीहरु सामु देखिदैँन।

एउटा विज्ञप्तिमा फायजरले आफ्ना उत्पादनहरुको उद्देश्य मानिसहरुको ज्यान बचाउनु भएको भन्दै मृत्युदण्ड दिन त्यसलाई प्रयोग गरिएकोमा गहिरो असन्तुष्टि व्यक्त गरेको छ।

घातक सुईको प्रयोग गरिने मृत्युदण्डको सजाय दिने चलन अमेरिकामा लामो समयदेखि रहँदै आएको छ।

सुरुमा निन्द्रा लगाउने र त्यसपछि श्वासप्रश्वास बन्द गर्ने विभिन्न औषधिहरुको मिश्रण मृत्युदण्डको सजाय दिन प्रयोग गर्ने गरिन्छ जसका कारण बन्दीहरु हृदयघातका कारण ज्यान गुमाउन पुग्छन्।

सन् २०११ मा युरोपेली संघले त्यस्ता औषधिहरुको आपूर्तिमा प्रतिवन्ध लगाएपछि अमेरिकी कम्पनीहरुले पनि त्यसलाई निरन्तरता दिएका थिए जसका कारण अधिकारीहरुले घातक सुई तयार गर्न नयाँ औषधिहरुको मिश्रणको खोजी गर्नु परेको थियो।

दुई बर्षअघि अमेरिकाको ओक्लोहोमा राज्यमा परीक्षण नगरिएको औषधिको मिश्रण दिइएपछि एक जना बन्दीको ४३ मिनेटपछि मात्र ज्यान गएको थियो।