संघीय गठबन्धनद्वारा सिंहदरबार घेराउ

  • 15 मे 2016
तस्वीर कपीराइट Netra KC

आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले आईतबारबाट सिंहदरवार घेराउको कार्यक्रम थालेको छ।

छ महिना लामो तराई केन्द्रित आन्दोलन बिसाएको साढे तीन महिनापश्चात मोर्चाका दलहरुले विभिन्न जनजातीय संगठन संग हातेमालो गर्दै राजधानीकेन्द्रित आन्दोलन थालेका हुन्।

नाराबाजी

बिहानै देखि घेराउका लागी सिंहदरवार क्षेत्र पुगेका गठबन्धनका नेता तथा कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्नका लागि गरेको प्रयास भने विफल पारिएको सुरक्षा निकायको भनाई छ।

देशका विभिन्न भागबाट आएका कार्यकर्ता सहित गठबन्धनका नेताहरु नाराबाजी गर्दै सिंहदरवार घेराउका लागि बिहान नौ बजे नै त्यस क्षेत्रमा पुगेका थिए।

तर उनीहरुलाई सिंहदरवार प्रवेश गर्ने नाकाहरुमा निषेधित क्षेत्र घोषणा गरेर सुरक्षाकर्मीहरुले रोकेका थिए।

सिंहदरवारको चारै तर्फको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर सुरक्षाकर्मी परिचालन गरिए पनि आन्दोलनकारीहरु भने माईतीघर मण्डला र अनामनगरको हनुमानथानलाई खासगरी लक्षित गरेर आएका थिए।

घम्साघम्सी

निषेधित क्षेत्र तोड्ने प्रयास गरेका गठबन्धनका कार्यकर्ताहरु र सुरक्षाकर्मी बीच केही बेर घम्साघम्सी समेत भएको थियो।

अन्तत: निषेधित क्षेत्र लेखेर तारबार गरिएको नजिकै उनीहरु धर्ना दिएर बसेका थिए।

धर्नामै बसेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने "शान्तिपूर्ण ढंगले सिंहदरवार घेराउ कार्यक्रम शुरु भएको छ, मधेसी र जनजातिको खोसिएको अधिकार सिंहदरवारबाट लिन आएका हौं। यो पटक त्यो अधिकार लिएरै फर्किन्छौं।"

राजधानी केन्द्रित आन्दोलनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ताहरु बोकेर आएका गाडीहरुलाई सुरक्षाकर्मीहरुले बाटोमै रोकेको गठबन्धनको आरोप छ।

गठबन्धनले सोमबार पनि सिंहदरवार घेराउको कार्यक्रम जारी रहने जनाएको छ।

वार्ताका लागि सरकारले गरेको ‌औपचारिक आग्रहको लिखित जवाफ दिईसकेको गठबन्धनले वार्ताको वातावरण बनाउन सरकारले कुनै कदम नचालेकाले आन्दोलनमै जानु परेको जनाएको छ।

अध्यक्ष महतोले भने "वार्ता बिरोधी हामी हैनौं तर सार्थक वार्ताका लागि सरकार तयार देखिंदैन। ११ बुँदे मागको जवाफ दिएको छैन। विगतमा मारिएकाहरुलाई सहिद घोषणा गरेको छैन उल्टै अहिले पनि हाम्रा कार्यकर्ताहरु माथि धरपकड भैरहेको छ।"

अपिल

सरकारले चाही वार्ताका लागि आफुहरु गम्भीर रहेको भनाई दोहोर्याएको छ।

"सरकारले गठबन्धनका कार्यकर्तालाई धरपकड गरेको छैन, बरु वार्ता गर्नैकै लागि वार्ता समिति गठन गरेर गठबन्धनलाई अपिल गरिरहेको छ," गृहमन्त्री शक्तिबहादुर बस्नेतले बताए।

संविधान जारी भए यता आन्दोलनका कार्यक्रम नभएको राजधानीमा शुरु भएको आन्दोलनले दिनभर सवारी साधनको आवागमनलाई भने प्रभावित पारेको थियो।

विभिन्न ठाँउमा राखिएका निषेधित क्षेत्रका बोर्ड र भएका धर्नाहरुका कारण बटुवाहरुलाई समेत कठिनाइ भएको थियो।