भेनेजुएला: बन्द उद्योग कब्जा गर्ने चेतावनी

  • 15 मे 2016
तस्वीर कपीराइट EPA

भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले उत्पादन बन्द गरेका कारखानाहरु कब्जा गरी त्यस्ता उद्योगका मालिकहरुलाई जेल हाल्ने चेतावनी दिएका छन्।

देशव्यापी संकटकाल घोषणा गरेको एक दिनपछि उनले त्यस्तो धारणा राखेका हुन्।

उनले आफ्नो संकटकालको घोषणा विदेशी हस्तक्षेप रोक्न केन्द्रित रहेको बताएका छन्।

विपक्षी दलहरुले चाहिँ राष्ट्रपति मडुरोलाई फिर्ता बोलाउनुपर्ने माग थालेका छन्।

धाराशायी

राष्ट्रपति मडुरोले उद्योगपतिले देशको अर्थतन्त्र धाराशायी बनाउन खोजेको आरोप लगाएका छन्।

तस्वीर कपीराइट AP

उनले भेनेजुएलाले गहिरो आर्थिक संकटबाट मुक्ति पाउन उत्पादनका माध्यमहरुलाई माथि उठाउनुपर्ने धारणा राखेका छन्।

तेलका धनी राष्ट्रका कारण सिर्जित वैदेशिक हस्तक्षेप रोक्न भन्दै उनले शुक्रबार नयाँ देशव्यापी संकटकाल घोषणा गरेका थिए।

आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै उनले भने, “मैले सशस्त्र बलहरु र मिलिसियाहरुलाई आगामी शनिबार राष्ट्रिय सैनिक अभ्यास गर्न भनेको छु, हाम्रो भूमि पवित्र छ र हामीले यसको सम्मान सुनिश्चित गर्न जुनसुकै अवस्थाका लागि पनि तयार रहनुपर्छ।”

राष्ट्रिय सभामा हाल बहुमतमा रहेका विपक्षी दलहरुले राष्ट्रपति मडुरोलाई फिर्ता बोलाउन मतदान गरिनुपर्ने प्रस्ताव अघि बढाउन खोजिरहेका छन्।

असन्तुष्टि

तस्वीर कपीराइट Reuters

शनिबार काराकासमा आयोजित एउटा र्यालीलाई सम्बोधन गर्दै कयौं नेताहरुले संकटकालको निर्णय कंग्रेसले अनुमोदन नगरेको बताए।

एक जना नेताले अत्तलिएका राष्ट्रपति स्वयंले आफूलाई संवैधानिक कानुनी दायराको सिमानामा पुर्याएको टिप्पणी गरेका छन्।

भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो तेल सन्चिति छ तर विश्वभर घटेको तेलको मूल्यले यसको अर्थतन्त्रमा नराम्रो प्रहार गरेको छ।

अघिल्लो वर्ष उसको अर्थतन्त्र साढे ५ प्रतिशत भन्दा बढीले संकुचित भएको थियो र महंगी दर १ सय ८० प्रतिशतले बढेको थियो।

देशमा देखिएको खाद्यान्न, औषधी र आधारभूत वस्तुहरुको अभावको कारण व्यापारिक नेतृत्व र आफ्नो सरकारविरुद्ध अमेरिकाले छेडेको आर्थिक युद्ध रहेको मडुरोले आरोप लगाउँदै आएका छन्।