अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र

  • 16 मे 2016
स्वयंम्भूनाथ तस्वीर कपीराइट EPA

आगामी बिहिबार सुरु हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि चार मुलुकका संस्कृति मन्त्री सहभागी हुने टुंगो लागिसकेको संस्कृति मन्त्रालयले जनाएको छ।

बुद्ध दर्शनबारे बौद्धिक छलफल हुने उक्त सम्मेलनमा करिब ४ सय विद्धानहरुको उपस्थिति रहने बताइएको छ।

जेठ ६ र ७ गते काठमाडौंमा सम्मेलन भएपछि जेठ ८ गते राष्ट्रपतिको उपस्थितिमा लुम्बिनीमा बुद्ध जयन्ती मनाइने सरकारको तयारी छ।

सरकारले गएको माघ २० गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई उच्च महत्व दिँदै आयोजना गर्ने भनी मन्त्रिपरिषद्बाट निर्णय गरेको थियो।

'निमन्त्रणा'

उक्त निर्णय अनुसार सम्मेलनमा भाग लिनका लागि सरकारले भारतका प्रधानमन्त्री, चीनका राष्ट्रपतिलगायत श्रीलंका र दक्षिण कोरियाका राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो।

तर उनीहरुको उपस्थितिको खबर नआइसकेको संस्कृति मन्त्रालयले जनाएको छ।

राष्ट्रप्रमुखबाहेक सरकारले विभिन्न ३५ देशका संस्कृति मन्त्रीसहित उच्च अधिकारीहरुलाई आमन्त्रण गरेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले भने, “हालसम्म आउने पक्कापक्की भनेर खबर आएका संस्कृती मन्त्रीमा थाइल्याण्ड, श्रीलंका, बर्मा र पाकिस्तान र २० जना विद्वान छन्।"

उनका अनुसार सम्मेलनमा २३ जना गुम्बामा प्रमुख, र २ सय १० जना अन्तर्राष्ट्रिय धर्मका साधकका अतिरिक्त अस्ट्रेलिया र स्वीटजरल्याण्डका ६ जना सांसदसहित २ सय ६५ जना अन्तर्राष्ट्रिय सहभागीहरुले आउने खबर पठाइसकेका छन्।”

उपस्थिति

काठमाडौंमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने छन् भने जेठ ८ गते लुम्बिनीमा मनाइने २५६० औं बुद्ध जयन्तीमा राष्ट्रपतिको उपस्थिति रहने बताइएको छ।

सम्मेलनको उद्देश्यबारे प्रवक्ता उपाध्यायले भने, “बुद्धको जन्मस्थल र बुद्ध दर्शनको सुरुवात स्थल लुम्बिनी हो भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा थप उजागर गर्नु र यसको माध्यमबाट हाम्रो धार्मिक पर्यटनको क्षेत्रमा आन्तरिक बुद्ध ‘सर्किट’हरुको विकास गरेर दीर्घकालीन रुपमा पर्यटन क्षेत्रको समेत विकास गर्नु हाम्रो उद्देश्य रहेको छ।”

बुद्धको जन्मस्थल लुम्बिनी तथा बौद्ध धर्मको केन्द्र भन्ने विषयमा २४ वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ।