अपहरित चिबक किशोरीमध्ये एक घर फिर्ता

  • 18 मे 2016
तस्वीर कपीराइट

नाइजेरियास्थित अभियानकर्मीहरुले भनेका छन्, विद्रोही समूह बोको हरामले अपहरण गरेका चिबक किशोरीहरु मध्ये एक जना फेला परेकी छन्।

दुई वर्ष अघि भएको अपहरणमा परेकाको उद्धार गरिएकी उनी पहिलो हुन्।

त्यतिखेर उत्तर पूर्वी नाइजेरियाको एक शहरबाट दुई सयभन्दा धेरै किशोरीहरुको अपहरण गरिएको थियो।

अझै वेपत्ता

सन् २०१४ को अप्रील महिनामा एक माध्यमिक विद्यालयबाट अपहरित मध्ये अझै २१८ किशोरीहरु बेपत्ता छन्।

अभियानकर्मीहरुले बीबीसीलाई बताए अनुसार मंगलबार अमीना अली नकेकलाई एक स्थानीय भिजिलान्ते समूहले क्यामरुनसंगको सीमा नजिकै रहेको सम्बीसा जंगलमा फेला पारिएको हो।

अमीनालाई उनका गैरसैनिक पिताले पहिचान गरेका थिए।

गैरसैनिक संयुक्त कार्यदल नाम दिइएको उक्त भिजिलान्ते समूहलाई इस्लामवादी समूह बोको हराम विरुद्ध लड्न गठन गरिएको हो।

सूत्रहरुले बीबीसीलाई बताए अनुसार अमीना चीबक शहरको दक्षिणमा रहेको मबालालाकी हुन्।

अपहरित

उक्त ठाउँका २५ जना किशोरी अपहरित भएका थिए। मबालालाकी उनकी एक छिमेकीका अनुसार अमीनाका साथमा एक शिशुपनि छ।

अपहरित हुँदा १७ वर्षकी अमीना अहिले १९ की भइन्।

उनलाई अब माइदुगुरी शहरमा स्थानान्तर गरिने बताइएको छ।

सन् २०१४ मा भएको हमलामा बन्दूकधारीहरु रातको समयमा चिबक पुगेका थिए जहाँ उनीहरुले स्कूलमा विद्यार्थीहरु रहने डर्मीटरीमा प्रवेश गरी २७६ जना किशोरीलाई ट्रकमा हाली लगेका थिए।

ती मध्ये केही ट्रकबाट हाम फालेर भागेका थिए।

सीएनएनले यसै वर्षको अप्रीलमा प्रसार गरेको एक भिडियोमा ती स्कूले छात्रामध्ये केही जीवितै रहेको देखिएको थियो।