'इजिप्ट एयर खस्नुअघि दुइपटक मोड लियो'

  • 19 मे 2016
तस्वीर कपीराइट Reuters
Image caption विमानमा सवार ६६ जनामा धेरैजसो इजिप्ट र फ्रान्सका छन्

प्यारिसबाट कायरोतर्फ उडिरहेको इजिप्ट एयरको विमान भूमध्यसागरमा अचानक खस्नुअघि दुईचोटी छिटोछिटो मोड लिएको ग्रीसका रक्षा मन्त्रीले बताएका छन्।

पानोस क्यामेनोसले भने, "एयरबस एथ्रीटुजिरो देब्रेतिर ९० डिग्री र त्यसपछि दाहिनेतर्फ ३ सय ६० डिग्री मोडिएको थियो।२

विमान रेडारबाट सम्पर्कविहीन हुनुअघि २५ हजार फिटभन्दा माथिबाट खसेको थियो।

विमानमा सवार ६६ जनामध्ये धेरैजसो इजिप्ट र फ्रान्सका छन्।

खोजी

विमानको खोजी ग्रीस टापु कारपाथोसको दक्षिणपट्टिको समुद्रमा भइरहेको छ।

खोजी कार्यमा ग्रीस र इजिप्टका जलसेना संलग्न छ।

खोजीका लागि फ्रान्सले डुंगा र जहाजहरु पठाउन प्रस्ताव राखेको छ।

विमानमा ७ जना चालक दलका सदस्य र ३ जना सुरक्षाकर्मीहरु तथा बाँकी ५६ जना यात्रुहरु थिए।

फ्लाइट एमएसएटजिरोफोर प्यारिसस्थित विमानस्थलबाट बुधबार राती स्थानीय समय ११ बजेर ९ मिनेटमा उडेको थियो।

सो विमान इजिप्टको राजधानीमा बिहीबार दिउँसो सवा तीन बजे अवतरण गर्ने तालिका थियो ।

आपत्कालिन बैठक

इजिप्ट एयरले भनेको छ, विमान इजिप्टको हवाई सीमानामा करीब ३७ हजार फिटमा उडिरहेको बेला रेडारको सम्पर्कबाट बेपत्ता भएको थियो।

ग्रीसका उड्डयन अधिकारीहरुका अनुसार ग्रीसको हवाच सीमानामा प्रवेश गरेपछि हवाई ट्राफिक नियन्त्रकहरुले पाइलटसँग कुरा गरेका थिए र त्यतिबेलासम्म अवस्था सामान्य देखिएको थियो।

उनीहरुले भने, इजिप्टको हवाई क्षेत्रमा प्रवेश गर्न लाग्दा उनीहरुले पाइलटसँग सम्पर्क गर्ने प्रयास गरेका थिए, तर पटकपटक सम्पर्क गर्दा पनि विमानले कुनै प्रतिक्रिया जनाएन।

त्यसको दुई मिनेटमै रेडारसँग विमानको सम्पर्क विच्छेद भएको थियो।

प्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलाँदले के भएको थियो भन्ने सत्य तथ्य पत्ता लागेपछि एउटा निस्कर्ष निकालिने बताएका छन्।

उनले इजिप्टका समकक्षीसँग कुरा गरेका छन् र दुबै नेताले आफ्ना उच्च अधिकारीहरुसँग आपत्कालिन बैठक गरिरहेको दुबै देशका रिपोर्टहरुमा जनाइएको छ।