'खोजी टोलीले मानव अवशेष भेट्टायो'

  • 20 मे 2016
तस्वीर कपीराइट AP
Image caption ग्रीस, इजिप्ट, फ्रान्स र ब्रीटनका सैन्य समूह ग्रीसको कारपाथोस टापू नजिकै खोजी कार्यमा खटिरहेका छन्

ग्रीसका अधिकारीहरुले भनेका छन्, भूमध्यसागरमा दुर्घटनाग्रस्त भएको इजिप्ट एयरको खोजी गरिरहेको टोलिले मानव अवशेषहरु फेला पारेको छ।

उनीहरुले भनेका छन्, इजिप्टको समूहले ती अवशेषहरु भेटेका थिए र उनीहरुले सिट र लगेजका सामानहरु पनि फेला पारेका छन्।

यात्रु र चालकदलका गरी ६६ जना सवार उक्त विमान प्यारिसबाट कायरोका लागि उडिरहेको बेला बिहीबार समुद्रमा खसेको थियो।

अनुमान

विमान दुर्घटनामा पर्नु अघिको महत्वपूर्ण १२ मिनेटमा ककपिटमा के भएको थियो भन्ने विषयमा विभिन्न अनुमानहरु भइरहेका छन्।

उक्त समयमा हवाइ ट्राफिक नियन्त्रकहरुले विमानका चालकसँग सम्पर्क गर्न सकेका थिएनन्।

इजिप्टका अधिकारीहरुले भने, बेपत्ता भएको इजिप्ट एयरका भग्नावशेषहरु भूमध्यसागरमा तैरिरहेको अवस्थामा फेला परेका छन्।

इजिप्टको सेनाका प्रवक्ताले दुर्घटनाग्रस्त विमानको भग्नावशेष र यात्रुका सामानहरु एलेक्जेण्ड्रियाबाट करीब २ सय ९० किलोमिटर टाढा भेटिएको बताए।

ती सामानहरु रेडारबाट विमान बेपत्ता भएको क्षेत्रबाट अलिकति दक्षिणी क्षेत्रमा भेटिएको ग्रीसका रक्षामन्त्री पानोस क्यामेनोसले बताए।

जिम्मेवार

खोजीकार्य अहिले विमानको फ्लाइट रिकर्डर खोज्नमा केन्द्रित भएको समाचार संस्था एपीले जनाएको छ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले विमान दुर्घटनाप्रति अत्यन्त दुख र खेद व्यक्त गरे।

ग्रीसले भनेको छ, एयरबस एथ्रीटुजिरोले करीब २५ हजार फिट भन्दा माथिबाट खस्नुभन्दा अघि दुईचोटी छिटोछिटो मोड लिएको थियो।

इजिप्टका अधिकारीहरुले सो विमान त्यसरी खस्नुका पछाडि विमानमा कुनै प्राविधिक त्रुटिका कारण नभै आतंकवादी क्रियाकलापका कारण भएको हुनसक्ने बढी संभावना रहेको जनाएका छन्।