इजिप्टएअरको विमानबारे अनुसन्धान जारी

  • 20 मे 2016
तस्वीर कपीराइट epa

बिहीबार बिहानैबाट पूर्वी भूमध्यसागर क्षेत्रमा वेपत्ता भएको इजिप्टएअरको विमानको खोजी भइरहँदा फ्रान्सका अधिकारीहरुले विमानस्थलमा भएको हुनसक्ने संम्भावित सुरक्षा कमजोरीबारे जाँचबुझ गरिरहेका छन्।

प्यारिसबाट कायरोतर्फ गैरहेको बेला हराएको सो विमानमा ६६ जना सवार थिए।

यसअघि इजिप्टका नागरिक उड्ययन मन्त्री सेरीफ फातिले इजिप्टएअरको विमान बेपत्ता हुनुमा प्राविधिक भन्दा बढी आंतकवादी गतिविधि कारक हुनसक्ने बताएका थिए।

हालसम्म विमानको भग्नावशेष फेला परेको छैन्।

जोड

तस्वीर कपीराइट AP

पछिल्लो जोड प्यारिसको सार्ल डो गोल विमानस्थलमा कुनै सुरक्षा उल्लंघन भयो कि भएन भन्ने पत्ता लगाउनमा छ।

अघिल्लो बर्ष प्यारिसमा हमला गरिएपछि त्यहाँ कडाइ गरिएको थियो र सुरक्षा व्यवस्थाको समिक्षा भइरहेको थियो।

बुधवार राति उक्त विमानले प्यारिशबाट उडान भर्दा विमानस्थलमा खटिएका अधिकारीहरुलाई सोधपुछ गरिएको छ।

फ्रान्सका अनुसन्धानकर्ताहरु र एअरबसका एक जना प्राविधिक सल्लाहकार इजिप्टका अधिकारीहरुलाई अनुसन्धानमा सघाउन कायरो पुगेका छन्।

सुरक्षा विश्लेषकहरुले विमान भित्र बम भएको भए त्यसलाई विभिन्न स्थानबाट लगिएको हुनसक्ने औंल्याएका छन्।

बुधवार उक्त एअरबस कायरो, ट्युनिश र इरिट्रियामा अवतरण गरेपछि प्यारिश पुगेको थियो।

भूउपग्रहमार्फत लिइएका तस्वीरले रेडार स्क्रिनबाट हराउने क्रममा सो विमानमा विस्फोटन भएको कुनै संकेत नदिएको अमेरिकी अधिकारीहरुले बताएका छन्।

प्यारिसस्थित विमानस्थलका कामदारका एक वकिलले इस्लामवादी उग्रवादीहरुले विमानस्थलमा समर्थकहरु भर्ती गर्न खोजीरहेको बीबीसीलाई बताए।

अन्यौल

फ्लाइट एमएस८०४ का अन्तिम गतिविधि बारे अझै पनि अन्यौल रहेको छ।

अवतरण गर्न आधा घण्टा भन्दा कम समय बाँकि रहँदा उक्त विमान बेपत्ता भएको थियो।

ग्रिसको कारपथस टापु नजिक जारी खोजीमा ब्रिटेनको जलसेनाको पानी डुंगा र वायुसेनाको विमानले सहयोग गरिरहेका छन्।

हालसम्म विमानको भग्नावशेष फेला परेको छैन।