सगरमाथा आरोहण गर्ने यो वर्ष ३ सय भन्दा बढी

  • 20 मे 2016
तस्वीर कपीराइट AP

शुक्रबार ४० जना भन्दा बढी आरोही टाकुरामा पुगेपछि गत साता यता सगरमाथाको सफल आरोहण गर्नेको संख्या तीन सय नाघेको अधिकारीहरुले बताएका छन्।

अझै करिब डेढ सय आरोहीहरु शिखर नजिक पुग्न लागेको विभागले जनाएको छ।

छोटो समयमा थुप्रै आरोहीको शिखरतर्फ आउजाउ भएपछि सो क्षेत्रका केही समय निकै भीड भएर ट्राफिक जामजस्तो अवस्थासमेत आइपरेको अधिकारीहरुले बताएका छन्।

ट्राफिक जाम

२ दिनसम्म मौसम बिग्रिएर रोकिएका आरोहीहरु आकाश खुल्नासाथ शिखरमा पुगेका हुन्।

आरोहणको लागि अनुकुल मौसमको प्रतिक्षामा बसेका अधिकांश आरोहीहरु सगरमाथाको शिखर नजिक बसेकाले सगरमाथामा ट्राफिक जाम जस्तो भएको हाल सगरमाथा आधार शिविरमा रहेर निगरानी गरिरहेका पर्वतारोहण शाखाका प्रमुख प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

उनले भने, "अलिअलि ट्राफिक जाम हुन्छ। सक्ने जान्छन्। नसक्ने फर्कन्छन्। ११ हजार डलर तिरेर आएका हुन्छन् अनि मौसम एकदिन राम्रो हुन्छ एकजनालाई जानु अर्कोलाई नजानु भन्न सकिन्छ?"

कुशल शेर्पा गाइडहरुले सगरमाथामा डोरी टाँगेयता करिब साढे ३ सय जना आरोही शिखरमा पुगेका छन्।

सहज बाटो

अब २ दिनभित्रमा यो मौसमको आरोहण लगभग सकिने श्रेष्ठले बताए।

उनले भने, "अस्ती ६ दिनमा ८८ जना हिजो २०२ भन्दा बढी आज ४० भन्दा बढीको रिपोर्ट आएको छ। आज १०० हुन्छ कि भनेको मौसम खराब भएको छ। अब त छैन भोलि र पर्सि अलिअलि त हो।"

आरोहण सकेर फर्किएकाहरुले सगरमाथामा बनार्इएको बाटो विगतको भन्दा सजिलो भएको बताएका छन्।

खुम्बु आर्इसफलको जोखिम बाहेक अन्य क्याम्पहरुमा बाटो सजिलो बनार्इएको आरोहणमा गएका सहयोगी दानुरी शेर्पाले बताए।

उनले भने, "पहिलाको भन्दा अहिले बाटो राम्रो छ। खुम्बु आइसफलमा चाहिँ खतरा नै छ।"

हिमाल आरोहणका लागी यो अप्रिल मे को सिजन मुख्य मानिन्छ। यो सिजनमा आरोहणमा सघाउने थुप्रै शेर्पा गाइड बाहेक एक नेपाली र २ सय ८९ जना विदेशीले आरोहण अनुमती पाएका थिए।