नयाँ पद सृजना गर्ने प्रचण्डको प्रस्ताव

  • 22 मे 2016
तस्वीर कपीराइट AFP
Image caption विगतमा बारम्बार फुटेका माओवादीका केही समूहबीच प्रचण्डको नेतृत्वमा पहिलो पल्ट एकता भएको छ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नयाँ नामाकरण गरिएको पार्टीमा पदाधिकारी संख्या बढाउने प्रस्ताव गरेका छन्।

अन्य माओवादी समूहसँगको एकतापछि सर्वसम्मत रुपमा नयाँ दलको अध्यक्ष बनेका प्रचण्डले त्यस्तो प्रस्ताव दलको केन्द्रिय बैठकमा राखेका हुन्।

नयाँ दलको केन्द्रीय समितिको प्रथम बैठक आइतवार काठमाण्डूमा शुरु भएको छ।

केन्द्रीय समितिको आकार नै ठूलो भएको भन्दै पार्टीभित्रै असन्तुष्टि सुनिएका बेला प्रचण्डले पदाधिकारी बढाउने प्रस्ताव गरेका छन्।

बहुपदीय

उक्त दलका एकजना नेता राम कार्कीले प्रचण्डले उपाध्यक्षको संख्या बढाउने र अन्य नयाँ पद सृजना गर्ने प्रस्ताव गरेको बताए।

सामान्यतया पार्टी नेतृत्वको उत्तराधिकारीको बलियो दावेदार ठानिने महासचिवलाई लिएर धेरै चासो पाइन्छ।

नेता कार्कीले भने, "महासचिवको टुंगो त लागेको छैन तर केही उपाध्यक्षहरु, थप उपमहासचिवहरु र सचिवहरु रहने कुराको संकेत बैठकमा पाइएको छ।"

पार्टी फुटनुअघि एकीकृत माओवादीमा र मोहन वैद्य नेतृत्वको दलमा पनि महासचिव रहिसकेका रामबहादुर थापा फेरि महासचिव बन्ने चर्चा पनि छ।

एकीकृत नेकपा माओवादीको महासचिव कृष्णबहादुर महरा थिए।

उपमहासचिवसँगै वरिष्ठ नेताको पद पनि सृजना गर्ने प्रचण्डले प्रस्ताव गरेका छन्।

अप्ठेरो

नेता कार्कीले भने, "अध्यक्षले केही विशिष्ठ नेताहरुलाई वरिष्ठ नेता बनाउने सम्भावना औंल्याउँदै रामबहादुर थापा र नारायणकाजी श्रेष्ठतर्फ संकेत गरे जस्तो देखिन्थ्यो।"

प्रचण्डले समावेशी झल्किने गरी बरिष्ठ र पुराना नेताको व्यवस्थापन गर्न पदाधिकारीको संख्या बढाउनुका साथै कतिपय प्रभावशाली नेताको खासगरी महासचिवमा देखाएको आकांक्षाले निम्त्याएको अप्ठेरो फुकाउन नयाँ पदको प्रस्ताव गरेको जानकारहरुको बुझाई पाइन्छ।

नेता कार्कीका अनुसार प्रचण्डले अहिलेलाई अध्यक्ष मात्रै राखेर महाधिवेशनसम्म एकपदीय प्रणालीमा जाने सुझाव पनि आएको जानकारी बैठकमा गराएका थिए।

तर जानकारहरुका अनुसार प्रचण्डले पद विभाजनमा ठूलै किचलो आएमा त्यो विकल्प प्रयोग गर्न सक्छन्।