इराक: फलुजा नियन्त्रणमा लिन सैन्य कारबाही

  • 23 मे 2016
abadi तस्वीर कपीराइट Reuters
Image caption इराकी प्रधानमन्त्री अवादीले फलुजामा इराकी झण्डा फरफराउने वाचा गरेका छन्

इराकी प्रधानमन्त्री हैदर अल अवादीले फलुजा शहरलाई इस्लामिक स्टेटको कब्जाबाट मुक्त गराउने ठूलो सैन्य कारबाहीको घोषणा गरेका छन्।

सोही घोषणा अनुसार सेना, प्रहरी र स्वयमसेवी लडाकुहरुले उक्त शहर घेराउ गरेका छन्।

लक्ष्य

इराकमा अहिले इस्लामिक स्टेटका दुई वटा पकडक्षेत्रमात्रै छन् र फलुजा त्यसमध्ये एक हो।

फलुजा शहर सन् २०१४ मा आइएसले कब्जामा लिएको थियो।

दुई वर्षपछि उक्त शहर पुन: नियन्त्रणमा लिन लक्षित सैन्य कारबाही बग्दादले सुरु गरेको छ।

आक्रमण घोषणापूर्व करिब २० हजार सुरक्षाकर्मी फलुजाको वरपर जम्मा भएका थिए।

त्यसअघि इराकी सेनाले उक्त शहर छाड्न सर्वसाधारणलाई भनेको थियो।

भाग्न नसक्नेहरुलाई आ-आफ्ना घरमाथि सेतो झण्डा राख्न भनिएको छ।

आशा

बीबीसीका मध्यपूर्व संवाददाता जिम मियुरका अनुसार फलुजामा ६० देखि ९० हजार जति सर्वसाधारण छन्।

तीमध्ये कयौं आइएस लडाकुका परिवार छन्।

सरकारी अधिकारीहरुले फलुजामाथि नियन्त्रण कायम गर्न दुईदेखि तीन हप्ता लाग्न सक्ने अनुमान गरेका छन्।

यसै वर्ष रमादी शहर पुन: नियन्त्रणमा लिएपछि इराकी सरकारी अधिकारीहरु पछिल्लो कारबाहीप्रति आशावादी देखिन्छन्।

फलुजा नियन्त्रणमा आए आइएस कब्जामा रहेको इराकी भूभागको सूचीमा मोसुलमात्रै बांकी रहनेछ।