एमालेमा नयाँ विवाद

  • 25 मे 2016
तस्वीर कपीराइट PTI
Image caption केपी ओलीले सरकार र पार्टीमा एकलौटी गरेको आरोप पार्टीभित्रैबाट लगाइएको छ

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले काठमाण्डूमा आफ्नो पक्षको भेला आयोजना गरेपछि सत्तारुढ नेकपा एमालेमा नयाँ विवाद उत्पन्न भएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले नेता नेपालमाथि गुटगत भेला गरेको आरोप लगाउँदै त्यसको चर्को आलोचना गरेको छ।

भेलामा नेता नेपालले सरकार र पार्टी एकलौटी ढंगले चलाएको आरोप ओलीमाथि लगाएको छ।

प्रमुख प्रतिपक्षी दलको सहयोगमा सत्ता गठबन्धनभित्रैबाट सरकारमाथि आइलागेको संकट केही अघि मात्रै टारेका प्रधानमन्त्री ओली पक्षलाई त्यसले झस्काएको छ।

गलत

संस्थापन निकट मानिने एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले त्यसलाई गुटगत भेलाको संख्या दिँदै भने, “सरकारले राष्ट्रियता लगायतका मामिलामा लिएको अडानका कारण जनता र पार्टीपंक्तिको मन जितेको बेला केही नेताहरु यसरी छटपटिनु गलत हो।”

पार्टी सचिव योगेश भट्टराई अध्यक्ष रहेको मदन भण्डारी अध्ययन केन्द्रले भेला आयोजना गरेको बताइएको छ।

उनीसँग सम्पर्क गर्ने बारम्बारको प्रयास सफल भएन।

भेलामा अध्यक्ष ओली निकट नेता-कार्यकर्ताहरुलाई नबोलाइएको बताइएको छ।

तर भेलामा सहभागी पोलिटब्युरो सदस्य परशुराम मेघि गुरुङले त्यसलाई आयोजकको अधिकारको कुरा भएको बताए।

आलोचना

भेलामा सरकार र पार्टीको आलोचना भएको थियो।

पोलिटब्युरो सदस्य गुरुङले भने, "पार्टीको बारेमा छलफल हुँदा राम्रा र कमजोरीबारे छलफल र बहस हुनु स्वाभाविक हो।"

तर वरिष्ठ नेताकै मुखबाट तीव्र आलोचना भएको खबरले संस्थापनलाई अलि बढि रुष्ट बनाएको देखिन्छ।

प्रचार विभागका उपप्रमुख थापाले भने, "पूर्वप्रधानमन्त्री भएर गाउँ कमिटीको भेलामा जाने, सरकार चलाउँदा आफूले जथाभावी गर्ने, अरुलाई चाँही शिक्षा दिन त मिलेन नि।"

बुधवार भेलाको समापन कार्यक्रममा वरिष्ठ नेता नेपाल र मंगलबार उद्घाटन कार्यक्रममा अर्का नेता झलनाथ खनाललाई प्रमुख अतिथि बनाइएको थियो।

ओली खनाललाई हराएर संसदीय दलको नेता र त्यसपछि नेता नेपाललाई परास्त गरेका पार्टी अध्यक्ष भएका थिए।