आइएसको ‘राजधानी’ नजिकै कुर्द आक्रमण

  • 25 मे 2016
तस्वीर कपीराइट Reuters

इस्लामिक स्टेटले सिरिया र इराकमा कब्जा गरेका भूभागबाट उसलाई धपाउन भइरहेका दुईवटा प्रमुख सैन्य कारवाहीको सामाना गरिरहेको छ।

सिरियामा रक्का वरपर अमेरिका समर्थित कुर्द लडाकूहरुले आइएस विद्रोहीविरुद्ध धावा बोलेका छन्।

इराकमा चाहिँ सरकारी फौजले फल्लुजाह शहरलाई आइएस विद्रोहीहरुको नियन्त्रणबाट मुक्त गर्न सैन्य कारवाही जारी राखेका छन्।

आइएससम्बद्ध समाचार श्रोतहरुले उक्त समूहले आफूमाथी भइरहेका आक्रमण निस्तेज पारिरहेको जनाएका छन्।

फौज

तस्वीर कपीराइट Sedat Suna EPA

अमेरिकी समर्थनप्राप्त कुर्द र अरब लडाकूहरुले रक्कादेखि उत्तरतिरको भागबाट आइएस विद्रोहीलाई धपाउन नयाँ अभियान थालेका छन्।

त्यस अन्तर्गत सिरियन डेमोक्रेटिक फोर्सेस एसडीएफले करिब ३० हजार लडाकु खटाएको विश्वास गरिएको छ।

सो कारवाहीमा अमेरिकी नेतृत्वको गठबन्धनका लडाकु विमानहरुले सघाउने भनिएको छ र रुसले पनि सो कारवाहीलाई समर्थन गरेको बताइन्छ।

तर रक्कालाई पुन: नियन्त्रणमा लिने योजनाबारे एसडीएफले अझै केहि भनेको छैन।

राजधानी

बीबीसीका सेबास्टियन असरका अनुसार कुर्दिश लडाकुहरुले आइएसको नियन्त्रणमा रहेका आधार क्षेत्रहरु, गाउँ तथा शहर तथा उनीहरुको अनौपचारिक राजधानी रक्कामा आक्रमणका लागि जाने क्रममा नाचगान गरेका थिए।

आइएसले सन् २०१४मा रक्कालाई आफ्नो खलिफा अर्थात् शासनको केन्द्र भएको घोषणा गरेको थियो।

एक एसडीएफ सूत्रले कुर्द समाचार संस्था रुडलाई बताएअनुसार अब लडाकुहरु फतिसेह तीशी गाउँबाट अघि बढ्दै ती क्षेत्रहरुलाई आइएस विद्रोहीहरुको कब्जाबाट मुक्त गर्नेछ।

बीबीसीका मध्यपूर्व संवाददाता क्वेन्टीन सोमरभिल भन्छन्, आइएस लडाकूहरु लडाइँका लागि तम्तयार देखिन्छन् र उनीहरुले प्रतिरक्षाको लागि सुरुङहरुको ठूलो सञ्जाल समेत बनाइसकेका छन्।