ओबामा प्रशासनको निर्देशिकालाई चुनौती

  • 26 मे 2016

तेस्रोलिङ्गी विद्यार्थीहरुको अधिकारको दायरा बढाउने ओबामा प्रशासनको प्रयासलाई चुनौती दिंदै ११ वटा अमेरिकी राज्यहरुले त्यसविरुद्ध मुद्दा दायर गरेका छन्।

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यसै महिना तेस्रोलिङ्गी विद्यार्थीहरुको अधिकारसम्बन्धी एउटा निर्देशिका जारी गरेको थियो।

उसले विद्यार्थीहरुलाई उनीहरुको लैङ्गिक पहिचान अनुसार उपयुक्त हुने शौचालय प्रयोग गर्न दिन निर्देशन दिएको थियो।

तर उक्त निर्देशनलाई ११ वटा अमेरिकी राज्यहरुले ‘एउटा बृहत् सामाजिक प्रयोग’ भनेका छन्।

सीमित

थुप्रै राज्यहरुले हालसालै तेस्रोलिङ्गीहरुको अधिकारलाई सीमित तुल्याउने कानुनहरु पारित गरेका छन्।

ओबामा प्रशासनले ह्वाइट हाउसको पछिल्लो निर्देशिका पालना नगर्ने राज्यहरुले शिक्षामा संघबाट प्राप्त गर्ने आर्थिक सहायता नपाउने चेतावनी दिएको छ।

ओबामा प्रशासनको निर्देशिकालाई कानुनी चुनौती दिएका अनुदारवादी राज्यहरुमध्येको एक टेक्ससलेमात्रै १० अर्ब डलर शैक्षिक सहायता गुमाउने देखिन्छ।

टेक्ससका गभर्नर ग्रेग्ग एब्बट्टले भने, “ओबामा प्रशासनले अमेरिकी संविधानलाई कुल्चदैछ।”

दायरा

तस्वीर कपीराइट bbc

ओबामा प्रशासनको निर्देशिकाविरुद्ध कानुनी चुनौती दिने अन्य राज्यहरुमा एलाबामा, एरिजोना, जर्जिया, लुजिआना, मेन, ओक्लाहामा, टेन्नेस्सी, युटाह, वेस्ट भर्जिनिया र विस्कन्सिन छन्।

अमेरिकी कंग्रेस वा राज्यले निर्णय लिनुपर्ने विषयमा ओबामा प्रशासनले आफ्नो अधिकारको दायरा नाघिरहेको ती राज्यहरुले आरोप लगाएका छन्।

नर्थ क्यारोलाइनाले जन्मदर्तामा उल्लेख गरिएको लैङ्गिक पहिचान अनुसार तेस्रोलिङ्गीहरुले शौचालय प्रयोग गर्नुपर्ने कानुन पारित गरेपछि ओबामा प्रशासनले नयाँ निर्देशिका जारी गरेको थियो।

अमेरिकी न्याय मन्त्रालयले विभेदकारी भन्दै उक्त कानुनलाई चुनौती दिएको थियो।