पुनर्निर्माण सुस्त, प्राविधिक जनशक्ति बाहिरिँदै

  • 27 मे 2016

भूकम्पपछिको पुनर्निर्माणका कामहरु छरितो रुपमा हुन नसकेको गुनासो बारम्बार आइरहेको बेला प्राविधिक जनशक्ति उत्पादन गर्ने निकाय सीटीइभीटीले भने आफूहरुले तयार पारेको जनशक्ति प्रयोग गर्न सरकारले कुनै ध्यान नदिएको गुनासो गरेको छ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभीटीका अधिकारीहरुले तालिम लिएका कतिपय युवाहरु विदेश पलायन हुन थालेकोमा समेत चिन्ता व्यक्त गरेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने केही प्राविधिक विषय सुल्झिए लगत्तै सीटीइभीटीको समन्वयमा जनशक्ति परिचालन गरिने जनाएको छ।

हालसम्म भूकम्प प्रभावित जिल्लाहरुमा घर निर्माणको लागि दिने भनिएको सरकारी अनुदान वितरण हुन सकेको छैन्।

पलायन

सीटीइभीटीका अनुसार भूकम्पपछिको एक वर्षका बीचमा उनीहरुले ८ हजारभन्दा बढीलाई घर निर्माणसम्बन्धी तालिम दिइसकेका छन्।

तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सीटीइभीटीबीच समन्वय हुन नसक्दा ती जनशक्तिको सदुपयोग हुन नसकेको सीटीइभीटीका कार्यकारी प्रमुख रामहरि लामिछाने बताउँछन्।

उनी भन्छन्," हामीले त हाम्रो साधन स्रोतले भ्याएसम्म तालिम गराइरहेका छौं। तर प्राधिकरणसंग यो विषयमा अहिलेसम्म एउटा बैठक सम्म भएको छैन। मान्छेहरुले त पर्खेर बस्दैनन् नि। अधिकांश जनशक्ति विदेश पलायन भइसके। कतिपय शहरमै छन्।"

सीटीइभीटीले यसपालि अघिल्ला वर्षहरुभन्दा निकै धेरै संख्यामा डकर्मी, सिकर्मी, प्लम्वर र इलेक्ट्रिसियन जस्ता घर निर्माणमा आवश्यक जनशक्तिलाई उत्पादन गरेको हो।

समस्या

भूकम्प प्रभावित जिल्लाहरुमा युवाहरुको कमी भइरहेको बताइएको बेला त्यस्ता जनशक्ति निकै आवश्यक भएको बताउँदै पुनर्निर्माण प्राधिकरणले केही प्राविधिक समस्या समाधान भए लगत्तै समन्वय गरिने बताएको छ।

प्राधिकरणका प्रवक्ता राम थपलियाले भने,"उहाँहरुले उत्पादन गरेको जनशक्तिलाई पुनर्निर्माणको काममा सक्रिय गराउनलाई हामी वातावरण बनाउछौं। यसको लागि सबैभन्दा पहिले आवास अनुदान वितरणमा हामीलाई अहिले केही समस्या छ। बैंकसँग भएको समस्या हामी फुकाउदै छौं। यो समस्या समाधान भएपछि त्यसतर्फ हाम्रो ध्यान आकृष्ट हुनेछ।"

भूकम्प प्रभावित जिल्लाहरुमा घर निर्माणका निम्ति अनुदानको २ लाख रुपैयाँ बाड्न प्राधिकरण असमर्थ भएपछि घर निर्माणको काम रोकिएको अवस्थामा देखिन्छ।

भूकम्पले निजी र सरकारी गरी झण्डै ८ लाख घर तथा भवनमा पूर्ण र आशिंक क्षति पुगेको छ।