'हिरोशिमाको सम्झना कहिल्यै फिका हुनुहुन्न'

  • 27 मे 2016
तस्वीर कपीराइट Reuters
Image caption ओबामाले हिरोशिमाको सम्झना कहिले ओइलाउन नहुने बताए

दोस्रो विश्वयुद्धको परमाणु बम आक्रमणपछि हिरोशिमाको भ्रमण गर्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बराक ओबामा बनेका छन्।

ओबामाले सन् १९४५ अगस्ट ६ को सम्झना कहिल्यै फिका हुनुहुँदैन भने, तर विश्वको पहिलो परमाणु बम आक्रमणका लागि क्षमायाचना भने गरेनन्।

उनले हमलाबाट बाँचेका दुईजनासंग कुरा गरे र एउटा सम्बोधनमा परमाणु हतियार विनाको विश्व रोज्न देशहरुलाई आह्वान गरे।

भ्रमण

हिरोशिमामाथि भएको उक्त आक्रमणमा परेर १ लाख ४० हजारको र त्यसको तीन दिनपछि नागासाकीमा भएको आक्रमणमा परेर ७४ हजारको मृत्यु भएको थियो।

ओबामाले पहिले हिरोशिमा शान्ति स्मारक संग्रहालयको भ्रमण गरे र त्यसपछि जापानी प्रधानमन्त्री शिन्जो आबेसंग शान्ति स्मारक पार्क तर्फ हिंड्दै गए।

उनीहरु दुबैजना शान्तिको प्रतीक निरन्तर बलिरहने आगोका अगाडि उभिए र पहिले ओबामाले र पछि आबेले फूलको गुच्छा अर्पण गरे।

विश्वसंग डरको तर्क छोडेर परमाणु हतियार विनाको संसार खोज्ने शक्ति हुनुपर्ने पनि उनले बताए।

कुराकानी

ओबामाले त्यसपछि हमलाबाट बाँचेका दुईजनासंग कुरा गरे।

उनले ७९ वर्षीय शिगिआकी मोरीलाई अंगालो मारे र ९१ वर्षीय सुनाओ सुबोईसंग पनि कुरा गरे।

हिरोशिमाबाट बीबीसीका जन सडवर्थ भन्छन्, मत सर्वेक्षणका अनुसार धेरैजसो मानिसले यो भ्रमणको स्वागत गरेका छन् र ओबामाले क्षमायाचना नगरेकोमा दुःखी पनि छैनन् जस्तो देखिन्छ।

परमाणु हतियार प्रयोग गरेको एकमात्र देशका प्रमुखले परमाणुयुगका जोखिमको स्मारक बनेको शहरमा फूलको गुच्छा अर्पण गर्नुको प्रतीकात्मक अर्थ नै पर्याप्त छ।

अनुमति

तर अरु मानिस भन्छन्, उनको भाषण आदर्शवादमा ओतप्रोत भएतापनि उनी संसारका सबैभन्दा ठूला परमाणु हतियार भण्डारका सर्वोच्च कमाण्डर हुन् र उक्त भण्डारको आधुनिकीकरण गर्नका लागी अर्बौं डलर खर्च गर्ने अनुमति दिएका छन्।

राष्ट्रपति भन्दा केही पर सदाझैं एकजना मानिस परमाणु हतियार प्रहार गर्ने कोड रहेको ब्रीफकेस लिएर उभिएका थिए।

दोस्रो विश्वयुद्धमा परमाणु बमको प्रयोग विनाशकारी भएता पनि त्यसले जापानलाई आत्मसमर्पण गर्न वाध्य बनाएर दोस्रो विश्वयुद्धको अन्त्य गरेको हुनाले उक्त प्रहार आवश्यक भएको धेरै अमेरिकीहरु विश्वास गर्दछन्।

तर शुक्रबार उक्त स्मारकको भ्रमण गरेकी एकजना पीडितकी छोरीले पीडा पुस्तौंसम्म जारी रहेको बताइन्।

भ्रमणप्रति प्रतिक्रिया दिंदै चीनले चिनिया शहर नानजिङमाथि सन् १९३७ को डिसेम्बर महिनामा जापानले ६ हप्तासम्म गरेको आक्रमण झन बढी स्मरणयोग्य भएको बताएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले पीडित सहानुभूतिको लायक भएका तर दोषीले आफ्नो जिम्मेवारीबाट कहिले भाग्न नहुने बताए।