ओलम्पिक सार्नुपर्ने प्रस्ताव अस्वीकार

  • 28 मे 2016
तस्वीर कपीराइट AFP

जिकाको प्रकोपलाई देखाउँदै एक सयभन्दा बढी स्वास्थ्य विज्ञहरुले ब्रजिलको रियो ड जेनेरोमा अगष्टमा हुने ओलम्पिक त्यहाँ नगर्न गरेको आग्रह विश्व स्वस्थ्य संगठनले अस्वीकार गरेको छ।

एक दर्जनभन्दा बढी देशका विज्ञहरुले डब्लुएचओलाई पत्र लेखेर उक्त प्रतियोगिता स्थगित गर्न वा अन्यत्र सार्न सुझाव दिएका थिए।

ओलम्पिक हेर्न आउने ५ लाख भन्दा बढी पर्यटकहरुलाई जिकाको अनावश्यक जोखिममा पार्न नहुने उनीहरुको भनाई थियो।

तर एउटा विज्ञप्तिमा डब्लुएचओले ओलम्पिक खेलले जिकाको विस्तारमा आधारभूत रुपमा खासै प्रभाव नपार्ने जवाफ दिएको छ।

प्रकोप

तस्वीर कपीराइट .

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले लामखुट्टेबाट सर्ने उक्त रोगका कारण ओलम्पिकको मिति वा स्थान सार्नुपर्ने अवस्था आफूले नदेखेको बताएको छ।

एक वर्षअघि ब्रजिलमा देखिएको जिकाको प्रकोप अहिले ६० भन्दा बढी देशमा फैलिइसकेको छ र अन्य भूभागमा पनि त्यो सर्ने क्रम जारी छ।

जिकाका सङ्केतहरु मध्यम स्तरको भएपनि आफ्नो पत्रमा विज्ञहरुले त्यसका कारण एकदमै असामान्य ढङ्गका साना टाउको भएका शिशुहरु जन्मने र कहिलेकाँही वयस्कहरुमा पनि स्नायु सम्बन्धी गम्भीर समस्या देखिने उल्लेख गरेका छन्।

ओक्सफर्ड, हावर्ड र येल विश्वविद्यालयका जस्ता निकायका वैज्ञानिक, चिकित्सक र स्वास्थ्य क्षेत्रका कहलिएका १५० जनाले उक्त पत्रमा हस्ताक्षर गरेका छन्।

माग

उनीहरुले ब्रजिलमा लामखुट्टे नियन्त्रण गर्ने कार्यक्रम विफल भइरहेको भन्दै जनस्वास्थ्यलाई ध्यान दिएर ओलम्पिक सार्नुपर्ने वा खेल हुने स्थान फेर्नुपर्ने माग गरेका छन्।

रियो ओलम्पिक्स आगामी अगष्ट ५ देखि २१ मा आयोजना हुने निश्चित गरिएको छ।

आफ्नो विज्ञप्तिमा डब्लुएचओले ब्रजिल जिका संक्रमित ६० मध्ये एउटा देश रहेको र स्वास्थ्य सम्बन्धी यात्रा सुझाव पालना गरेर उक्त रोगको जोखिम कम गर्न सकिने बताएको छ।

यसअघि जनस्वस्थ्य विज्ञहरुले रियोमा ओलम्पिकका लागि आउने हजारौँ आगन्तुकहरुले जिकाको संक्रमण द्रुत गतिमा फैलाउन भूमिका खेल्न सक्ने चेतावनी दिएका थिए।

तर बुधवार अमेरिकाको जनस्वस्थ्य निकाय सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले ओलम्पिक प्रतियोगिता नै स्थगित गर्नुपर्ने तहमा जिकाको खतरा नरहेको बताएको थियो।