चाडका पूर्व राष्ट्रपति हाब्रेलाई जन्मकैद

  • 30 मे 2016
तस्वीर कपीराइट

चाडका भूतपूर्व राष्ट्रपति हिसेन हाब्रेलाई मानवताविरोधी अपराधहरुका लागि दोषी ठहर गरिएको छ र आजीवन कारावासको सजाय सुनाइएको छ।

अफ्रिकी संघको समर्थनमा सेनेगलको राजधानी डाकारमा गठन गरिएको एउटा अदालतले त्यस्तो सजाय सुनाएको हो।

सन् १९८२ देखि १९९० सम्म चाडमा उनी सत्तासीन रहँदा ती अपराधका घटनाहरु भएका थिए।

त्यस अवधिमा ४०,००० जनालाई मार्ने आदेश दिएको भन्ने आरोप भने उनले अस्वीकार गरेका छन्।

पहिलोपटक

आफ्नो शासनकालमा बलात्कार, यौन दासत्व र मानिसहरु मार्ने आदेश दिएको भन्दै न्यायाधीशले पूर्व राष्ट्रपति हिसेन हाब्रेलाई दोषी ठहर गरेका हुन्।

अदालतको आदेश सुनेपछि त्यहाँ उपस्थित पीडित र त्यतिबेला मारिएका मानिसहरुका आफन्तले खुशी प्रकट गरेका थिए र एकअर्कालाई अंगालो मारेका थिए।

भूतपूर्व शासकलाई अपराधहरुका लागि अफ्रीकी संघको समर्थन प्राप्त अदालतले मानव अधिकार उल्लंघनका घटनाविरुद्ध मुद्दा चलाएको यो पहिलोपटक हो।

अदालतको आदेशविरुद्ध पुनरावलोकन निवेदन दिनका निम्ति पूर्व राष्ट्रपतिले १५ दिनको समयावधि पाएका छन्।

तानाशाह

उक्त मुद्दामा काम गरेका अधिकारवादी संस्था ह्युमन राइट्स वाचका रीड ब्रोडीले भने, “कहिल्यै हार नमानेका बाँचेका मानिसहरुको समूहले आफ्ना पूर्व तानाशाहलाई न्यायको कठघरामा उभ्याएको दिनको रुपमा आजको दिन न्यायको अभिलेखमा दर्ता हुनेछ।”

मुद्दाको सुनुवाइ अवधिभर पूर्व राष्ट्रपति हाब्रेले अदालतको वैधानिकता स्वीकार्न मानेका थिएनन् र अदालती प्रक्रियामा निरन्तर अवरोध सिर्जना गर्दै आएका थिए।

उनका गोप्य प्रहरीले चरम यातना दिएको बाँच्न सफल भएका मानिसहरु बताउँछन्।

सेनेगलमा निर्वासनका रहेका बेला हाब्रेलाई सन् २०१३ मा पक्राउ गरिएको थियो।