भारतमा अस्त्र भण्डारमा आगलागी, १७ को मृत्यु

  • 31 मे 2016
तस्वीर कपीराइट AFP

पश्चिम भारतको महाराष्ट्र राज्यस्थित एउटा सैनिक अस्त्र भण्डार केन्द्रमा भीषण आगलागी हुँदा १७ जना सैनिकको ज्यान गएको छ।

नागपुर शहर नजिकै पुलगाउँस्थित भण्डारमा आगलागीका कारण धेरैवटा विस्फोट पनि भएका थिए, जसका कारण नजिकैका गाउँबाट मानिसहरुलाई अन्यत्र सारिएको छ।

अग्नि नियन्त्रकहरु आगो निभाउने कोशिश गरिरहेका छन्, जसमा परेर कम्तीमा १९ जना घाईते भएका छन्।

आगलागीको कारण खुल्न सकेको छैन।

प्रभाव

मंगलबार बिहानै लागेको आगो द्रुत गतिमा भण्डारमा फैलिएको थियो।

उक्त क्षेत्रभरि छर्रा र टुक्राहरु फैलिएपछि करिब १ हजार गाउँलेहरुलाई अन्यत्रै सारिएको छ।

विगत केही वर्षमा सैनिक अस्त्र भण्डार केन्द्रमा आगलागीका धेरै घटना भएका छन्।

सन् २०१० मा पूर्वी पानागढका सबैभन्दा ठूला भण्डार केन्द्रमध्ये एउटामा लागेको भीषण आगोका कारण धेरै विस्फोट भएका थिए तर चोट भने कसैलाई लागेन।

सन् २००७ मा कश्मीरमा एउटा भण्डारमा आगो लागेर २५ जना घाईते भएपछि अनन्तनाग जिल्लाका हजारौं गाउँलेहरुलाई अन्त सार्नु परेको थियो।

र सन् २००० मा उत्तरी भारतस्थित भरतपुरको अस्त्र भण्डारमा भएको आगलागीका कारण दुई जनाको ज्यान गएको थियो र झण्डै ९ करोड डलरको क्षति भएको थियो।