'दराया नगरमा सहायता सामग्री पुग्यो'

  • 1 जुन 2016
तस्वीर कपीराइट

सिरियाको विद्रोही नियन्त्रित नगर दरायामा सन् २०१२ मा सरकारी घेराबन्दी शुरु भएयता पहिलोपटक सहायता सामग्री पुगेका छन्।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिका अनुसार चार हजार मानिसहरु बस्ने दमस्कसको छेवैमा अवस्थित उक्त नगरमा औषधि, शिशुहरुका लागि दुध र अन्य अत्यावश्यक सामग्रीहरु बोकेका सवारी साधनको समूह पुगेको थियो।

त्यहाँ ती राहत सामग्री पुर्याउने गत महिनाको प्रयास अधिकारीहरुको अवरोधपछि रोकिएको थियो।

संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार उक्त नगरमा खानेकुरा, स्वच्छ पानी र औषधिहरुको चरम अभाव रहेको थियो।

अत्यावश्यक सामग्री

सिरियाली राजधानी दमस्कसको दक्षिणमा पर्ने विद्रोही नियन्त्रित उक्त नगरमा बुधबार बिहानदेखि ४८ घण्टे युद्धविराम लागू भएको थियो।

खोप, शिशुहरुले खाने दुध, औषधि र अन्य पोषणयुक्त खानेकुरा त्यहाँ पुर्याइएको राष्ट्र संघको मानवीय सहायता निकायले बताएको छ।

बेग्लै घटनामा, दराया भन्दा उत्तर पश्चिममा पर्ने विद्रोही नियन्त्रित अर्को नगर मुआधमियामा पनि खानेकुराको पोका र गहुंको पिठो वितरण गरिएको छ।

त्यहाँ एक महिनाअघि मात्र सहायता सामाग्री पुगेको थियो।

विकराल अवस्था

गत अप्रिल महिनामा संयुक्त राष्ट्र संघले जनाएअनुसार सिरियाली सरकारी सेनाको घेराबन्दीमा परेको दराया नगरमा कम्तीमा चार हजार मानिसहरु फँसिरहेका छन्।

तीन वर्षअघि नै त्यहाँको बिजुली आपूर्ति काटिएको थियो।

बुधबार रुसको प्रतिरक्षा मन्त्रालयले जनाए अनुसार दरायामा मानवीय सहायता वितरण गर्न दिनका लागि ४८ घण्टासम्म संघर्षविराम गर्न सिरियाली अधिकारीहरुसंग सहमति गरिएको छ।

दरायाको छिमेकमा रहेको सैनिक विमानस्थललाई रुसी विमानहरुले राष्ट्रपति बशर अल असदलाई समर्थन गर्नमा प्रयोग गर्ने गर्दछन्।