संसारभरबाट मुहम्मद अलिप्रति श्रद्धान्जली

  • 4 जुन 2016
तस्वीर कपीराइट AFP

तीन पटक विश्व हेभिवेट च्याम्पियन बक्सर रहेका मुहम्मद अलिको ७४ वर्षको उमेरमा आज मृत्यु भएपछि विश्वभरबाट उनीप्रति सम्झना र सम्मान प्रकट भइरहेको छ।

अमेरिकी राष्ट्रपति ओबामाले उनलाई कठिन समयमा सही कुराको समर्थन गरेका मानिस भनेर प्रशंसा गरेका छन्।

एकजना अमेरिकी नागरिक हक अभियानकर्ताले उनलाई युद्धविरोधी नायक भनेका छन् भने केन्याका राष्ट्रपति उहुरु केन्याटाले उनको साहसले विश्वलाई सधैं प्रेरणा दिने बताएका छन्।

तर जातीय भेदभावका समयमा पृथकतावादी समूहमा आबद्ध भएपछि उनी विभाजनकारी पनि मानिएका थिए।

प्रारंभिक जीवन

ठूलो तौल समूह अर्थात हेभिवेट बक्सिङका ३ पटक विश्व च्याम्पियन बनेका अलिले नागरिक हकको खुलेर समर्थन गरेपछि विश्वभर लाखौं मानिसका प्रिय बनेका थिए।

अलिको जन्म सन् १९४२ को जनवरी १७ मा अमेरिकाको केन्टकि राज्यमा एकजना साईनबोर्ड पेन्टरका छोराको रुपमा भएको थियो।

उनको नाम क्यासियस मार्सेलस क्ले राखिएको थियो।

सन् १९५४ मा एउटा ३ मिनेट लामो म्याचमा उनले पहिलोपटक प्रतिस्पर्धात्मक बक्सिङ खेलेका थिए।

सन् १९६० को सेप्टेम्बर महिनामा पोल्याण्डका प्रतिद्वन्द्वीलाई हराउँदै उनी पहिलोपटक ओलम्पिक च्याम्पियन बने।

अमेरिका फर्केपछि उनको भव्य स्वागत गरियो तर उनलाई रेष्टुरेन्टमा बस्नका लागि टेबल नदिईएपछि जातीय भेदभाव कायम रहेको उनले अनुभव गरे।

सन् १९६४ मा विश्व हेभिवेट च्याम्पियन बन्दा उनले आफ्नो नाम मुहम्मद अलि राखिसकेका थिए।

क्यासियस क्लेलाई उनले दासको नाम भन्दै उक्त नाम प्रयोग गर्ने मानिसप्रति आक्रोश प्रकट गर्दथे।

बक्सिङ रिङमा रहँदा अलि आफ्ना प्रतिद्वन्द्वीलाई जिस्क्याउँथे, उनीहरुको वरिपरि नाच्थे, र कविता सुनाएर दर्शकलाई मनोरंजन गराउँथे।

युद्धको विरोध

उनी नेशन अफ ईस्लाम अर्थात मुसलमानहरुका लागि छुट्टै राष्ट्रको माग गर्ने समूहसंग आबद्ध थिए।

मार्टिन लुथर किंग जस्ता नागरिक हकका अभियानकर्ताले रोजेको समावेशी अवधारणा भन्दा यो ठिक उल्टो थियो।

कतिपय अमेरिकी जनताका लागि उनी घृणाका पात्र बने।

उनले ८ पटकसम्म आफ्नो हेभिवेट च्याम्पियन उपाधीको बचाउ गरे तर अमेरिकाको भियतनामको संगको युद्धको समयमा सेनामा भर्ती हुन नमानेपछि उनको उपाधी खोसिएको थियो र उनले ३ वर्षसम्म खेल्न पाएनन्।

उक्त युद्धको विरोध गर्दै उनले भनेका थिए “म र अरु अश्वेत भनिएका मानिस किन १० हजार माईल टाढा गएर अरु निर्दोष अश्वेत मानिसमाथि बम र गोली बर्साउने?”

उनलाई पाँच वर्षको जेल सजाय तोकिएको थियो तर पुनरावेदन पछि उक्त सजाय खारेज गरियो ।

भियतनामको युद्धका बारेमा ३ वर्षसम्म अमेरिकामा चिन्ता बढ्दै गएपछि अलिलाई माफी दिईएको थियो र उनी सन् १९७० मा फेरि खेलमा फर्किए।

त्यसपछि, ३६ वर्षको उमेरमा, उनी तीन पटक विश्व हेभिवेट च्याम्पियन बन्ने एकमात्र व्यक्ति बने र ४० वर्षको उमेरमा खेल जीवनबाट सन्यास लिए।

लोकप्रियता

केही समयमा उनलाई पार्किन्सन्स नामक रोग लागेको पत्ता लाग्यो।

तर उनले विश्वभर यात्रा गरिरहे, र जहाँ जाँदा पनि, खासगरी विकासोन्मुख देशमा, उनको भव्य स्वागत हुन्थ्यो।

ब्रिटेनमा बीबीसीका दर्शकले उनलाई शताब्दीका खेलाडी रोजेका थिए, र सन् २०५५ मा उनलाई प्रेसिडेन्सियल सिटिजन मेडल र प्रेसिडेन्सियल मेडल अफ फ्रिडम नामक अमेरिकाका सर्वोच्च सर्वसाधारण पुरस्कार प्रदान गरियो।

तस्वीर कपीराइट AP

२१ वर्षको व्यवसायिक जीवनमा अलिले ५६ वटा म्याच जितेका थिए र ५ वटा हारेका थिए।

तर उनको जीवनमा खेलका उपलब्धिमा मात्र सीमित थिएन।

उनको प्रसिद्धिका कारण उनले उठाएका नागरिक हकका मुद्दाले वजन पाएका थिए र अमेरिका भित्र र बाहिरका अश्वेत मानिसका लागि उनी एक आदर्श पात्र थिए।

खेल जीवनबाट माथि उठेर आफ्नो समयका सबैभन्दा जानेमानेका व्यक्ति बन्ने उनीजस्ता मानिस विरलै पाईन्छन्।