पुनर्निर्माणका लागि २५ संस्थालाई अनुमति

  • 5 जुन 2016
nra तस्वीर कपीराइट bbc
Image caption प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले निर्धारित पांचवर्षभित्रै पुनर्निर्माण पूरा हुने बताएका छन्

भूकम्प प्रभावित क्षेत्रमा काम गर्न चाहेका दुई दर्जनभन्दा बढी गैरसरकारी संस्थाहरुलाई निजी आवास, विद्यालय र स्वास्थ्य चौकी निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकृति दिएको छ।

आआफ्नै ढंगले काम गर्न खोजेका गैरसरकारी संस्थाहरुलाई गैरसरकारी संस्था परिचालन कार्यविधिमार्फत एउटै बाटोमा ल्याइएको भन्दै प्राधिकरणले यसले पुनर्निर्माणमा ठोस मद्दत पुग्ने बताएको छ।

नौलो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कूल १२ अर्ब रुपैयाँको खर्च गर्ने गरी साढे ६ हजार निजी आवास, १ सय ३३ विद्यालय र दुई वटा स्वास्थ चौकी बनाउन विभिन्न २५ गैरसरकारी संस्थालाई स्वीकृति दिएको छ।

आफ्नै तरिकाले पुनर्निर्माणको काम गर्न खोजेका गैर सरकारी संस्थाहरुलाई एकद्वार प्रणालीमा ल्याएको भनेको प्राधिकरणले अहिले मुख्य आवश्यकता ठानिएको घर र विद्यालय निर्माणलाई प्राथमिकता दिएको बताएको छ।

पुनर्निर्माण प्राधिकरणका प्रवक्ता राम थपलियाले भने,"सरकारले ऋण लिएर अनुदान दिइरहेको अवस्थामा गैरसरकारी संस्थाहरु हामीले दिएको नामावलि अनुसार उहाँहरु आउन तयार हुन भनेको नेपालको गैरसरकारी संस्थाको इतिहासमा नै नयाँ र नौलो प्रयोग हो। "

जिम्मेवारी

छानिएका गैरसरकारी संस्थाहरुसंग उनीहरुको कार्यक्षेत्रको आधारमा सम्बन्धित मन्त्रालय र प्राधिकरणसहित त्रिपक्षीय सम्झौता यसै हप्ताभित्र हुने अधिकारीहरुले बताएका छन्।

पुनर्निर्माणमा सघाउने संस्थाहरुको सूचीमा अग्रस्थानमा रहेको नेपाल रेडक्रसको भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख समेत रहेका प्रमुख कार्यकारी उमेशप्रसाद ढकालले भने,"६ हजार परिवारको निम्ति हामीले पांच वटा जिल्लामा २ लाखले सहयोग गर्छौं। त्यसबाहेक स्वास्थ्य, जीविकोपार्जनका विषयहरुमा अरु गाविसहरुलाई पनि गरेर उक्त एकीकृत कार्यक्रमका निम्ति ७ अर्ब भन्दा बढी खर्च गर्छौं।"

चार महिना अगाडि पुनर्निर्माण प्राधिकरणले स्वीकृति नलिइ काम नगर्न भन्दै संस्थाहरुलाई रोकेको थियो।

व्यवस्थित तवरले जिम्मेवारी दिंदा भूकम्प प्रभावित सबै जिल्लाहरुमा कार्यक्रम समानुपातिक बांडिएको र त्यसले त्यहाँको संस्कृति परम्परा समेत जोगिने विश्वास पुनर्निर्माण प्राधिकरणको छ।