बांग्लादेशमा हिन्दू पुजारीको हत्या

  • 7 जुन 2016
तस्वीर कपीराइट AFP

सत्तरी वर्षीय पण्डित आनन्द गोपाल गांगुलीको शव पश्चिमी जेनैदा जिल्लास्थित उनको मन्दिर नजिकैको धान खेतमा फेला परेको थियो।  

गत दुई दिनमा भएका सन्दिग्ध उग्रवादी हमलामा मारिनेमा आनन्द गोपाल गांगुली तेस्रो व्यक्ति हुन्।

प्रहरीका सहायक प्रमुख गोपीनाथ कान्जीलालले एएफपी समाचार संस्थासंग कुरा गर्दै भने,"प्रारम्भिक विवरणहरुमा जनाइए अनुसार उनलाई मोटरसाइकलमा आएका तीनजना मानिसहरुले आक्रमण गरेका थिए।"

शंका

आक्रमणको शैलीलाई विचार गर्दा त्यो इस्लामवादी उग्रवादीहरुले गरेका हुन सक्ने ठानिएको छ।

जसलाई हालैका महिनामा भएका त्यस्तै प्रकारका हत्याहरुका लागि समेत जिम्मेवार ठानिएको छ।

आइतबार मात्र एकजना इशाई व्यापारीलाई धारिलो हतियार प्रयोग गरी मारिएको थियो।

र, अर्को बेग्लै घटनामा एकजना वरिष्ठ प्रहरी अधिकारीकी श्रीमतीलाई गोली प्रहार गरी मारिएको थियो।

यसरी बढ्दो हिंसाको घटनालाई नियन्त्रणमा लिनका लागि प्रहरीमाथि दबाब बढिरहेको छ।

दावी

उग्रवादी समूह इस्लामिक स्टेटले यो पछिल्लो हत्या र यस अघिका हिंसाका घटनाहरुको जिम्मेवारी दावी गरेको छ।

तर देशका सूचनामन्त्री हसनल हक इनुले ती घटनाहरुमा आइएस संलग्नतालाई अस्वीकार गरे।

उनले त्यस्ता हिंसात्मक घटनाहरुमा जिम्मेवार रहेको आशंकामा विगतमा पक्राउ परेका मानिसहरुको सम्बन्ध इस्लामिक स्टेट वा तालेवानसंग भएको भन्ने कुनै प्रमाण फेला नपरेको बताए।

मंगलबार नै प्रहरीले दुई छुट्टाछुट्टै घटनामा तीनजना संदिग्ध इस्लामवादी उग्रवादीलाई गोली हानी मारिदिएका छन्।