सामाजिक सुरक्षा भत्ता 'ब्यांकबाट'

  • 8 जुन 2016
तस्वीर कपीराइट bbc
Image caption बृद्ध, अपाङ्ग, एकल महिला लगायतलाई सामाजिक सुरक्षा भत्ता दिइन्छ

सामाजिक सुरक्षा भत्ता सहित सरकारले नागरिकसँग गर्ने सबैखाले नगदको कारोबार बैंक मार्फत गर्ने निर्णय गरेपनि त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने स्पष्ट खाका नभएको सरकारी अधिकारीहरुले बताएका छन्।

ब्यांकहरु स्थापना नभएका दुर्गम क्षेत्रका नागरिकले भत्ता लिन चार-पाँच दिन लगाएर सदरमुकाम धाउनुपर्ने अवस्था पो आउने हो कि भन्ने चिन्ता प्रकट भइरहेको छ।

सरकारी अधिकारीहरुले त्यसबारे राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग छिटै छलफल गर्ने तयारी भइरहेको बताएका छन्।

यो वर्षदेखि सामाजिक सुरक्षाका नाममा वृद्ध, अपाङ्ग, एकल महिला, दलित बालबालिका आदिलाई दिइने भत्ता सरकारले दोब्बर पारेको छ।

जेष्ठ नागरिकका लागि त्यो रकम दुई हजार रुपैयाँ प्रति महिना पु-याइएको छ।

छलफलको तयारी

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले सबैको पहुँचमा ब्यांक सुविधा कसरी पु-याउने भन्ने छलफलको तयारी भइरहेको बताए।

उनले भने,"राष्ट्र बैंकसँग छलफलको तयारी गरिरहेका छौं। हामी राष्ट्र बैंक र अर्थ मन्त्रालयको सहयोगमा अलि सहज तरिकाले व्यवस्थापन गर्ने प्रयास गर्छौं। प्रारम्भिक छलफलको निचोड आएपछि मात्रै कसरी अगाडि बढ्न सकिन्छ भन्ने तय गर्नेछौं।"

आर्थिक वर्ष शुरु हुनु भन्दा अगाडि नै कतिसम्म व्यवस्थापन गर्न सकिन्छ भन्ने काम प्रारम्भ भइसकेको उनले बताए।

प्रवक्ता भट्टराईका अनुसार वृद्ध, अपाङ्ग, दलित बालबालिका र एकल महिला गरी सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरुको संख्या करीब २३ लाख छ।

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि यो वर्ष ३२ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको छ।

कतिपयले सामाजिक सुरक्षा भत्ताको ठूलो रकम दुरुपयोग भइरहेको बताउने गरेका छन्।

कार्यक्रम शुरुवात

तर भत्ता दुइहजार रुपैयाँ पु-याइएकोमा खुसी छन् एमाले नेता भरतमोहन अधिकारी जसले करीब दुई दशक अघि २०५१ सालमा अर्थमन्त्री हुँदा सय रुपैयाँ भत्ता दिएर यो कार्यक्रम शुरु गरेका थिए।

उनले भने,"अहिलेको महंगी हेरिकन जेष्ठ नागरिकका लागि, विधवा बैनीहरुका लागि, अपाङ्ग भाइ बहिनीहरुका लागि दिएको रकममा कन्जुस्याइ गर्न हुँदैन। यो सरकारले एकैचोटी डबल गरेको छ त्यसलाई म धन्यवाद दिन चाहन्छु।"

सय रुपैयाँबाट शुरु गरेको सामाजिक सुरक्षा भत्ता करीब बीस वर्षमा बीसै गुणा बढेर दुई हजार रुपैयाँ पुगेको छ।

वितरणको दुरुपयोग रोक्न बैंक खाता प्रभावकारी हुन सक्छ, तर देशका धेरै भागमा अझै पनि ब्यांकिङ सुविधा नहुँदा शारिरिक रुफमा असक्त, बृद्ध अपाङ्गहरु या दुरदराजमा बस्ने अन्यले सो सुविधा उपभोग गर्न कठिन हुन सक्छ।