'सिरियाको एलेप्पोमा १० जनाको मृत्यु'

  • 8 जुन 2016
तस्वीर कपीराइट Reuters

सिरियाको उत्तरी शहर एलेप्पोमा विद्रोही नियन्त्रित क्षेत्रमा भएका हवाइ हमलाहरुमा कम्तीमा १० जनाको ज्यान जानुका साथै दर्जनौ घाइते भएका बताइएको छ।

सिरियाली अभियानकर्ता र एउटा निगरानी समूहले जनाए अनुसार एउटा हवाई हमला पूर्वी शार जिल्लामा रहेको बयान अस्पताल नजीकै भएको थियो।

हमला पछिको दृश्य भन्दै सार्वजनिक गरिएको भिडियो फुटेजमा जलिरहेका र भत्केका भवनहरुबाट शवहरु निकालिंदै गरेको देख्‍न सकिन्छ।

उक्त हमलाका लागि को जिम्मेवार छ भन्ने स्पष्ट भैसकेको छैन, तर उक्त विभाजीत शहरलाई आफ्नो नियन्त्रणमा लिन सरकारी सैनिकहरुले ठूलो प्रयास गरिरहेका छन्।

प्रतिबद्धता

मंगलबार मात्रै एउटा अवज्ञाकारी भाषण दिंदै सिरियाली राष्ट्रपति बशर अल असदले आफ्ना विपक्षीहरुबाट उनकै शब्दमा देशको हरेक इन्च जमिन फिर्ता लिने प्रतिबद्धता व्यक्त गरेका थिए।

संयुक्त राष्ट्र संघको मध्यस्थतामा जिनीभामा भएको अप्रत्यक्ष शान्तिवार्ता गत एप्रील महिनामा भंग भए यता सिरियाको नव निर्वाचित संसदलाई राष्ट्रपति असदले दिएको त्यो पहिलो मुख्य भाषण थियो।