तेल अविवमा गोली चल्दा चारको मृत्यु

  • 9 जुन 2016
तस्वीर कपीराइट AFP

इजरेलको प्रहरी र अस्पताल सूत्रहरुका अनुसार दुई प्यालेस्टिनी बन्धुकधारीहरुले तेल अविव शहरमा चलाएको गोली लागेर कम्तीमा ४ जना मारिएका छन्।

इजरेलको रक्षा मन्त्रालय नजिकैको सडक पारि रहेको एउटा व्यापारिक केन्द्रमा भएको उक्त घटनामा अन्य १३ जना गोली लागेर घाइते भएको आपतकालीन एम्बुलेन्स सेवाले जनाएको छ।

दुवै जना संदिग्ध आक्रमणकारी पक्राउ परेका छन् जसमध्ये एकलाई गोली लागेको छ।

खुल्ला आकासमुनि खाजाघर भएको एउटा व्यस्त व्यापारिक केन्द्रमा उक्त हमला गरिएको थियो।

हमला

तेल अविवको मध्यमा रहेको सरोना बजारस्थित एउटा लोकप्रिय किनमेल तथा खानपिन गर्ने स्थानमा उक्त गोली हानाहान भएको थियो।

तस्वीर कपीराइट

आक्रमण शुरु गर्नुअघि दुईजना हमलाकारी एउटा खाजा घरमा बसिरहेको बताइएको छ।

सुरक्षाकर्मीले प्राप्त गरेको भिडियो फुटेजमा उनीहरुले कोट पाइन्ट लगाएको देखिएको छ।

साथै गोली चलेपछि खाना खाइरहेका मानिसहरु त्रासले भाग्न खोजेको, आफ्नो टेबल र कुर्सीलाई लडाएर त्यसको आडमा लुकिरहेको दृष्य देखिन्छ।

गोलीकाण्ड भएको स्थान नजिकै रहेको रक्षा मन्त्रालय पुगेर इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले घटनाबारे सुरक्षा निकायसँग सोधपुछ गरेका थिए।

इजरेली प्रधानमन्त्री नेतन्याहुले भने, “तेल अविवको मुटुमा गरिएको यो नृशंस अपराध, हत्या एवं आतंकवाद हो। मानव जीवनलाई महत्व नदिने र कफी पसलमा बसिरहेका निर्दोष मानिसहरुको हत्या गर्न इच्छुक आतंकवादीहरुले यो घटना गराएका हुन। हामी हमलाकारीलाई जवाफ दिन र रक्षा गर्नुपर्ने व्यक्तिलाई सुरक्षा दिन आवश्यक कदम चाल्नेछौँ।”

अस्वभाविक

बीबीसीका एक जना संवाददाता भन्छन् यस्ता घटना तेल अविवमा अस्वभाविक मानिन्छ र हालै बढेका चक्कु प्रहारका घटना उक्त शहरमा खासै भएका थिएनन्।

तस्वीर कपीराइट AFP

इजरेली प्रहरीले आक्रमणमा संलग्न रहेको आरोपमा दुई जनालाई गिरफ्तार गरेको र त्यसमध्ये एक घाइते भएको जनाएको छ।

लगभग २० वर्षका उनीहरु वेस्ट बैङ्कको हेबरन नजिकैको एउटा गाउँबाट आएका हुन् र उक्त क्षेत्रबाटै अघिल्लो वर्षको अन्त्यमा तनाव शुरु भएको बताइन्छ।

पछिल्ला हिंसामा ३० जनाभन्दा बढी इजरेलीले ज्यान गुमाएका छन्।

झण्डै दुई सय प्यालेस्टिनी मारिएका छन् र इजरेली अधिकारीहरले छुरा प्रहार, गोली हानाहान एवं कार दुर्घटनामा उनीहरुको ज्यान गएको बताउने गरेको छ।

पछिल्ला महिनामा त्यस्ता श्रृंखलाबद्ध घटनामा कमी आएको छ र हालसम्मकै क्रुर देखिने पछिल्लो घटनाले इजरेलमा सुरक्षा चिन्ताहरु बढाउने देखिन्छ।