बन्दका क्रममा तोडफोड र आगजनी

  • 9 जुन 2016
Image caption नेपाल बन्द क्रममा दुईवटा सवारी साधनमा आगो लगाइएको बताइएको छ

नेपाल बन्दका क्रममा दुई सवारी साधनमा आगो लगाइएको र एक दर्जनजति सवारी साधनमाथि तोडफोड भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बन्द गराउन खोज्ने लगभग १६० जनालाई नियन्त्रणमा लिइएको छ।

बन्द आह्वानकर्ता नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भने तोडफोडको जिम्मेवारी लिन अस्वीकार गरेको छ।

कैयौं राजनीतिक दलले बारम्बार विरोधका अन्य कार्यक्रम भन्दा सजिलो हतियारका रुपमा प्रयोग गर्दै आएको नेपाल बन्द यसपटक नेकपा माओवादीले 'सरकारले झुठा मुद्दा लगाएर थुनामा राखेका आफ्ना सातजना कार्यकर्ताको रिहाइका लागि' गरेको बताएको छ।

बन्द 'भव्य सफल'

बन्दकर्ता माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बन्द भव्य रुपमा सफल भएको बताए।

उनले भने, "देशैभर बन्द शानदार भव्य भयो। जनताको समर्थन र माया अपारै पाइयो। हाम्रो पार्टीबाट, हाम्रा कार्यक्रमबाट कसैले डराउनै पर्दैन।"

तोडफोड नियोजित रुपमा घुसेकाहरुले गरेको विश्वकर्माले दावी गरे।

राजधानी काठमाण्डूमा बिहीबार बिहान झिसमिसेमै यात्रु बनेर ट्याक्सीमा पसेका संदिग्ध माओवादीले पेट्रोल खन्याएर ट्याक्सी जलाइदिएका खबरहरु सार्वजनिक भएको थियो।

बन्दका क्रममा भएको क्षतिबारे नेपाल प्रहरीका प्रवक्ता माधव जोशीले भने, "सवारी साधनमा अवरोध गर्ने तोडफोड गर्ने १६२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुइवटा सवारी साधनमा आगलागी भएको र ११ वटा सवारी साधनमा तोडफोड भएको अवस्था छ।"

बन्दको प्रभाव राजधानी काठमाण्डूमा आंशिक र अन्य शहरमा अधिक परेको बताइएको छ।

अवज्ञा

तोडफोड गर्न खोज्नेलाई पक्राउ गर्ने प्रहरीले बन्द हुनै नदिने स्थिति बनाउन सक्दैन? भन्ने प्रश्नमा प्रहरी प्रवक्ता जोशीले भने, "लाखौं सवारी साधन चल्छन्, ती मध्ये दुइ चार पाँच सातवटा सवारी साधन जले या तोडफोड भए भन्दैमा प्रहरीको सुरक्षा थिएन भन्न मिल्ला र? सुरक्षा हाम्रो भूमिका हो त्यो त हामीले प्रदान गरिरहेकै छौं नि।"

बन्दको मारबाट वाक्क भएका खासगरी युवा जमातले पछिल्लो समय बन्दका दिन नारा जुलुश गर्दै अवज्ञा गर्न थालेका छन्।

बिहीबार पनि नेपालको दोश्रो ठूलो शहर पोखराका युवाहरुले बन्दको विरोधमा मोटरसाइकल -याली निकालेर कोणसभा गरेको पोखरास्थित हाम्रा संवाददाताले बताए।

व्यवसायीहरुले एक दिनको बन्दले मुलुकलाई दुइ अर्ब रुपैया सम्म घाटा पर्ने बताउँदै आएका छन्।