भट्टराई नेतृत्वमा नयाँ पार्टीको घोषणा

  • 13 जुन 2016
तस्वीर कपीराइट bbc
Image caption पार्टी घोषणा सभामा संस्थापकहरुलाई सार्वजनिक शपथ खुवाइएको थियो

माओवादी सशस्त्र द्वन्द्वका एकजना अगुवा नेता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाण्डूको दशरथ रंगशालामा आइतबार नयाँ पार्टी घोषणा गरेका छन्।

गत वर्षको असोजमा संविधान जारी भएपछि माओवादी पार्टी परित्याग गर्दै उनले फरक-फरक दर्शन बोकेका दल र विभिन्न पृष्ठभूमिका व्यक्तिसँग नयाँ दल बनाउन छलफल शुरु गरेका थिए।

नेता बाबुराम भट्टराईले पार्टीका संस्थापकहरुलाई खुलासभामा सपथ खुवाए।

अन्य दलभन्दा आफूलाई फरक देखाउने प्रण गरेको उक्त दलको ठम्याइमा समृद्धिको बाटो समात्न नै उसको जन्म भएको हो।

'सुनका छाना'

त्यसको निम्ति नयाँ दल गठन गर्न आफूले लिएको अग्रसरतालाई बिचार र सिद्धान्तहीन राजनीतिक यात्राको आरम्भ भनि कतिपयले टिप्पणी गरे पनि भट्टराईले वाद र विचारको विवादमा अल्झिने समय नभएको उल्लेख गरे।

त्यसक्रममा पूर्वमाओवादी नेता भट्टराईले आफ्नो विगतको राजनीतिक दर्शनभन्दा विपरीत ध्रुवका राजा र राजनीतिज्ञको नाम लिन छुटाएनन्।

उनले भने, "जसरी पृथ्वी नारायण शाहदेखि भीमसेन थापा जस्ता हाम्रा पुर्खाहरुले बाहुबली एकीकरण गरे, प्रजा परिषददेखि वीपी कोइराला हुंदै हामी माओवादीसम्मका योद्धाले लोकतान्त्रिकरणको प्रक्रिया पुरा गर्यौं, अब घरमाथिका सुनका छाना, सुनका गजुर हालेर देशलाई समृद्ध बनाउनुछ। त्यसैले नयाँ शक्ति नेपाल घोषणा गरेका छौं।"

पत्रिका, टेलिभिजन र रेडियोमा विज्ञापन गरिएको पार्टी घोषणा सभामा एक लाख मानिस उतार्ने आयोजकले बताएका थिए।

उपस्थिति

तर दशरथ रंगशालाको क्षमता, उपस्थिति र बाहिर ओहरदोहर गर्नेको संख्या अनुमान लगाएकाहरुले घोषणा गरिएभन्दा निकै कम तर हजारौंको संख्यामा मानिस उपस्थित गराइएको आँकलन गरेको पाइन्छ।

तैपनि नेता भट्टराईको अठोट थियो, "आगामी दुई वर्षभित्र एक नम्वर शक्ति बनेर यो देशको नेतृत्व गर्ने हाम्रो सोच छ।"

नयाँ दललाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भट्टराईको पूर्वपार्टीबाट कृष्णबहादुर महरा पुगेका थिए।

शुभकामना दिनेहरुमा संविधानसभाबाट संविधान जारी भएयता आर्थिक विकाशको लक्ष्यमा विशेष जोड दिँदै आएको सुनिने नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि थिए।

नयाँ शक्तिको भविष्य औंल्याउने क्रममा आफ्नो दलको बचाउ गर्दै उनले अन्य पुराना दलको भविष्यप्रति भने सन्देह दर्शाए र भने, "म सम्भावना देख्छु पनि। शायद यो पार्टीले एमाले बाहेक अरु पार्टीलाई धक्का दिन सक्छ।"

निराशा

भट्टराई नेतृत्वको दलमा विगतमा विभिन्न पेश र व्यवसाय तथा फरक-फरक राजनीतिक दर्शन बोकेका पार्टी सम्बद्ध व्यक्ति छन्।

नयाँ आशा र सपनाको जगमा टेकेर भएका/गराइएका विगतका राजनीतिक परिवर्तनको केही वर्षमै सर्वसाधारणमा निराशा देखिने गरेको छ।

आफू र आफ्नो दल सहितको संलग्नताका माझ आएको पछिल्लो राजनीति परिवर्तनप्रति समेत जनमानसमा देखिन थालेको वितृष्णालाई उपयोग गर्ने बाबुराम भट्टराईको आकांक्षा देखिन्छ।

तर सफल होलान?

कठीन लाग्ने महत्वाकांक्षाप्रति चासो चौतर्फी देखिन्छ।