अमेरिकाको गोलीकाण्डमा कम्तीमा २० को मृत्यु

  • 12 जुन 2016
तस्वीर कपीराइट EPA

फ्लोरीडा राज्यको ओर्ल्याण्डो शहरस्थित एक रात्रीक्लबमा आईतबार बिहानीपख एक हमलाकारीले गोली चलाउँदा करीब २० जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एक राइफल र ह्यान्डगन बोकेका बन्दूकधारीले केही बन्धक बनाएका थिए। पछि प्रहरीसंग गोली हानाहान हुँदा बन्दूकधारी मारिएको बताइएको छ।

सो गोलीबारीमा घाईते भएका ४० भन्दा धेरैलाई अस्पताल पुर्याइएको छ।

एक्लै रहेको बताइएको आरोपित बन्दूकधारी स्थानिय क्षेत्रका नभएको प्रहरीको भनाई छ।

अमेरिकी सञ्चार माध्यमहरुले उक्त गोलीकाण्ड मच्चाउने व्यक्ति २९ वर्षीय अमेरिकी नागरिक ओमर मतीन भएको पहिचान गरेका छन्।

फ्लोरीडाका अधिकारीहरुले सो घटनालाई आतंकवादी क्रियाकलापको रुपमा अनुसन्धान गरिंदै गरेको बताएका छन्।

तर उक्त क्रियाकलाप घरेलु हो वा अन्तर्राष्ट्रिय भन्ने उनीहरुले प्रष्ट बताएका छैनन्।

ओर्ल्याण्डोका प्रहरी प्रमुख जोन मिनाका अनुसार स्थानिय समय बिहानको दुई बजे हमला शुरु भएको थियो। र, त्यहाँ तैनाथ प्रहरीसंग बन्दूकधारीको गोली हानाहान भएको थियो।

त्यसपछि बन्दूकधारी क्लब भित्र छिरेको र बन्धकको अवस्था उत्पन्न भएको उनले बताए।

क्लबमा रहेका केही बन्धकहरुबाट फोन कल र टेक्स्ट मेसेज प्राप्त भएपश्चात करीब बिहान पाँच बजेतिर प्रहरीको टोली त्यहाँ पठाइएको प्रहरी प्रमुख मीनाले बताए। उक्त टोलीसंग गोली हानाहान भएको र आरोपित मारिएको उनले बताए।

सो पल्स नामक रात्रीक्लब समलिंगीहरुको क्लब भएको बताइन्छ। घटनाका बेला त्यहाँ एक सयभन्दा धेरै जना रहेको बताइएको छ।

मास शुटिंग ट्र्याकर नामक एक संस्थाका अनुसार सन् २०१५ मा मात्रै अमेरिका भर मास शुटिंग अर्थात आम गोलीकाण्डका करीब ३२७ घटना भएकाथिए। जसमा परी ४७५ जना मारिएका तथा १८७० जना घाईते भएका बताइएको छ।

एकै घटनामा चारजनाभन्दा धेरै मारिएका वा घाईते भएका घटनालाई आम गोलीकाण्डको घटना मानिने गरिन्छ।

तस्वीर कपीराइट ORLANDO POLICE