‘उडता पंजाब’लाई प्रदर्शन अनुमति

  • 13 जुन 2016
तस्वीर कपीराइट AFP

भारतको एक अदालतले अपराधको विषयवस्तु समेटिएको बलिउड फिल्म ‘उडता पंजाब’ लाई प्रदर्शन गर्न अनुमति दिएको छ।

त्यसअघि भारतमा चलचित्रलाई प्रदर्शन अनुमति दिने निकाय सेन्सर बोर्डले सो फिल्मका केही विषयमाथि आपत्ती जनाएको थियो।

तर मुम्बइ उच्च-अदालतले सृजनशीलता अभिव्यक्त गर्ने स्वतन्त्रतालाई सम्मान गर्नु पर्ने र त्यसमाथि बन्देज लगाउन नहुने बताएको छ।

मुम्बइ उच्च अदालतले सोमबार फैसला सुनाउँदै सेन्सर बोर्डलाई दुई दिनभित्र ‘उडता पंजाब’ लाई नयाँ प्रमाणपत्र दिन आदेश दिएको छ।'

'जित'

सो चलचित्रका नायक साहिद कपुरले पिसाब गरिरहेको एक दृश्यलाई निकालिने छ।

तस्वीर कपीराइट AFP

निर्माता अनुराग कश्यपका वकिलले सो दृश्यलाई निर्माण पक्षले पहिले नै हटाउने सोच बनाइसकेको बताए।

उनले भने, त्यस अतिरिक्त चलचित्रमा तीनवटा जानकारीहरु राखिनेछन् जसले सो चलचित्रले लागू पदार्थको प्रयोग वा ओसारपसारलाई कुनै पनि हिसाबले प्रोत्साहन दिदैन।

सो चलचित्रले गाली र अपशब्दको प्रयोगलाई बढावा नदिने र पन्जाब राज्यको छवि नबिगार्ने उनले बताए।

सेन्सर बोर्डका फिल्मकार अशोक पंडितले अहिले सृजनशीलताको जीत भएको बताए।

तर उनले मानिसहरुले मनपरी ढंगले काम गर्न नहुने सन्देश समेत प्रवाह भएको बताए।

प्रदर्शन

तस्वीर कपीराइट Getty

‘उडता पंजाब’ फिल्मका निर्माताका एक वकिलले एउटा दृश्य काट्ने र एक जानकारीमूलक सन्देशलाई हेरफेर गर्न सकिने बताएका थिए।

तर सेन्सर बोर्डले चाहिं सो फिल्मले पन्जाब राज्यलाई लागू पदार्थको स्वर्गको रुपमा चित्रण गर्ने भन्दै थुप्रै दृश्यहरु काट्नु पर्ने बताएको थियो।

फिल्म निर्माताहरुले पछिल्लो फैसलालाई प्रजातन्त्रको विजयको रुपमा व्याख्या गरेका छन्।

फ़िल्म 'उड़ता पंजाब' जून १७ तारिख देखि सार्वजनिक प्रदर्शन हुदै छ।