‘विस्तारित अवधिमा थप उजुरीको अपेक्षा’

  • 14 जुन 2016
rubi
Image caption रुबी श्रेष्ठ जस्ता कयौं मानिस द्वन्द्वकालमा बेपत्ता आफ्ना अाफन्तको अवस्थाबारे बुझ्न व्याकुल देखिन्छन्

सशस्त्र द्वन्द्वका बेला बेपत्ता भएकाहरुको उजुरी लिन एक महिनाको समय थप गरिएपछि अझ थुप्रै उजुरी आउने अपेक्षा गरिएको बेपत्ता छानविन आयोगले जनाएको छ।

गठन भएको एक वर्षपछि मात्र काम थालेको आयोगले कार्यशैली छरितो बनाउन उजुरीसंगै बृहत अनुसन्धानको काम पनि अगाडि बढाइएको आयोगका अधिकारीहरुले बताएका छन्।

अवधि

सार्वजनिक उजुरी लिन थालेको दुई महिनामा पीडितहरुबाट अनुमान गरिएभन्दा बढी उजुरी आइसकेको र थपिएको समयमा अझै थुप्रै ठाँउबाट उजुरी आउने अपेक्षा आयोगको छ।

आयोगका प्रवक्ता विष्णु पाठकले भने,"अहिले असार महिनाभर उजुरी लिने गरी समय थपिएको छ र कतिपय अवस्थामा उच्च हिमाली जिल्लाहरुमा यार्सागुम्बा टिपेर फर्किनेहरुलाई विशेष सुविधा दिनका लागि उनीहरु घर फर्केपछि पनि लगातार रुपमा उजुरीको समय खोल्न सकिनेछ।"

संक्रमणकालीन न्यायको लागि बनेको आयोगमा हालसम्म झन्डै २१ सय पीडितले जिल्ला-जिल्लामा रहेको स्थानीय शान्ति समितिको कार्यालयमार्फत उजुरी दर्ता गराइसकेको आयोगले जनाएको छ।

अनुसन्धान

गठन भएको एकवर्षपछि मात्र काम थालेको आयोगले अब कामलाई छरितो बनाउन उजुरी संकलन संगसंगै अनुसन्धानको काम पनि थालिएको आयोगले बताएको छ।

हालसम्मको अनुसन्धानको स्थितिबारे आयोगका प्रवक्ता पाठक भन्छन्,"तात्कालीन प्रहरी र सेनाका अधिकारी, प्रधानमन्त्री, गृहमन्त्री सबैको विरुद्धमा उजुरी परेका छन्। भर्खरै हामीले प्रारम्भिक अनुसन्धान सुरु गरेका छौं। हाम्रा अनुसन्धान अधिकृतहरु फाराम लिएर प्रत्येक पीडितको घर आँगनमा गएर बृहत अनुसन्धानमा लाग्नुहुन्छ।"

दुई वर्षको लागि गठन गरिएको बेपत्ता छानविन आयोगको म्याद सकिन नौ महिना बांकी छ ।

कानूनी प्रावधान अनुसार आयोगको म्याद एक वर्ष थप्न सकिनेछ।

तर व्यक्ति-व्यक्तिको घटनामा सम्बन्धित ठाँउमा पुगेर अनुसन्धान गर्नुपर्ने भएकाले आफूहरुलाई छुट्याइएको हालको समयावधि निकै कम हुने आयोग अधिकारीहरु बताउंछन्।