‘मोटोपन कुपोषणको प्रमुख कारक’

  • 14 जुन 2016
तस्वीर कपीराइट AP

भोकमरी र मोटाेपनका कारण विश्वमा द्रुत गतिमा कुपोषण बढ्दै गएको एउटा नयाँ अनुसन्धानले देखाएको छ।

‘ग्लोबल न्युट्रिशन रिपोर्ट’ २०१६ का अनुसार हाल विश्वका ४४ प्रतिशत देशहरुले गम्भीर तहको पोषणतत्वको अभाव र मोटोपन बेहोरिरहेका छन्।

१ सय २९ वटा देशमा गरिएको अध्ययनले प्रत्येक तीनजना मध्ये एक कुनै तहको कुपोषणबाट ग्रस्त रहेको देखाएको छ।

‘कुपोषित हुनु अहिले सामान्य जस्तै छ,” प्रतिवेदनका लेखकहरुले भनेका छन्र।

चेतावनी

परम्परागत रुपमा कुपोषणलाई भोकमरीग्रस्त बालबालिकामा हुने शारीरिक विकासको अवरोध र बढ्दो संक्रमणको जोखिमका रुपमा लिने गरिन्थ्यो।

तर ती क्षेत्रमा अझै समस्या रहेपनि प्रगतिहरु हासिल भएका छन्।

तस्वीर कपीराइट AFP

नयाँ प्रतिवेदनका लेखकहरुले मोटाेपनमा भइरहेको वृद्धिबाट देखिएको अस्वाभाविक विश्वव्यापी चुनौतीको चर्चा गरेका छन्।

त्यस्तो वृद्धि विश्वका सबै भूभागमा र लगभग सबै जस्तो देशमा भइरहेको उनीहरुको निचोड छ।

बढी मोटोपन भएका करौडौँ मानिस कुपोषित भइरहेका छन् किनभने उनीहरुको रगतमा चिनी र ‘कोलस्टेरोल’ को मात्रा एकदमै बढी छ।

उक्त अनुसन्धानको नेतृत्व गरेकी प्राध्यापक कोरिन्ना हक्सले नयाँ अध्ययनले विश्वले कुपोषणलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको बताइन्।

उनले भनिन्, “ठ्याक्कै अर्थ हेर्दा कुपोषण भनेको खराब पोषण बुझिन्छ जसको अर्थ पर्याप्त पोषण तत्व नपाउनु हो।”

उनले थपिन्, ‘त्यसको कारण तपाईं एकदम दुब्लो वा चाँडो हुर्कन नसक्ने अथवा तपाईंको तौल अस्वाभाविक रुपमा बढी हुने अनि रगतमा चिनी पनि धेरै देखिएर तपाईंलाई चिनी रोग पनि लाग्न सक्छ।’

अस्वीकार्य

धेरै देशहरुले कम तौल भएका शिशु र उनीहरुको विकासमा देखिएका अवरोधलाई सम्बोधन गर्ने लक्ष्यहरु पूरा गर्दै गएको भएपनि एकदमै थोरैले मोटोपन घटाउने र त्यससँग सम्बन्धित मुटुका रोगहरु नियन्त्रण गर्नमा प्रगति हात पारिरहेको अध्ययनमा उल्लेख छ।

अध्ययनले पाँच वर्षका शिशुहरुमा अब कम तौल रहेको भन्दा पनि बढी तौल रहेको अवस्था निकट भविष्यमा आउने उल्लेख गरेको छ।

अध्ययनका सह लेखक लरेन्स हदादले भने, “हामी जुन विश्वमा बसिरहेका छौँ त्यहाँ अब कुपोषण साधारण बनिसकेको छ, त्यही भएर यसलाई हामीले कुनै पनि हालतमा स्वीकार गर्नुहुँदैन।”

पछिल्लो प्रतिवेदनले यो समस्या हल गर्न आर्थिक र राजनीतिक प्रतिबद्धताको आवश्यकता औंल्याएको छ।

साथै प्रमाणित कुपोषण कार्यक्रमका लागि गरिएको प्रत्येक एक डलर लगानीले १६ डलर बराबरको प्रतिफल दिइरहेको अध्ययनले उल्लेख गरेको छ।