विषादी परीक्षण उपकरणको अभाव कायमै

  • 14 जुन 2016
फलफुल
Image caption फलफूल पकाउन प्रयोग गरिने कारबाइड वर्गका रसायनको परीक्षण गर्ने उपकरण नेपालमा नभएको बताइएको छ।

बिक्रीका लागि बजारमा ल्याइने तरकारी तथा फलफूलमा भएको विषादीको परीक्षण गर्ने कामलाई देशव्यापी गरिने भनिएको दुई वर्ष बितीसक्दा पनि नेपालमा विषादी जाच्ने उपकरणको अभाव कायमै रहेको अधिकारीहरुले बताएका छन्।

दुई वर्षअघि ल्याइएको एक उपकरणको सहायताले राजधानी काठमाण्डूमा तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरिएको छ।

तर त्यसमा प्राविधिक समस्या आउन थालिसकेको बाली संरक्षण निर्देशनालयका एक अधिकारीले बीबीसीलाई बताए।

बाली संरक्षण विभागका वरिष्ठ बाली संरक्षण अधिकृत दिनेशबाबु तिवारीका अनुसार दुई वर्षअघि ल्याइएको स्पेक्ट्रोफोटोमिटर भनिने उपकरणबाट काठमाण्डूको कालिमाटीस्थित तरकारी तथा फलफूल बजारमा दैनिकजसो विषादी परीक्षण गर्ने गरिएको छ।

उनले भने, “हामीले वैशाख र जेठमा ५९ वटा नमुनाहरु जाँच गर्दा चार वटा नमुना मात्रै तत्कालै खान अयोग्य पायौं। ती तीन, चार दिनपछि खान सकिने थिए।”

'समस्या'

अर्गानोफोस्फेट र कार्बामेट वर्गका विषादीको अवशेष जाच्नसक्ने त्यो उपकरणमा हालै प्राविधिक समस्या समेत आएको उनको भनाइ छ।

“त्यो उपकरणमा केही समस्या पनि आयो; त्यसलाई सामान्य मर्मत चाहियो।”

नेपालका बजारहरुमा छिमेकी भारतका विभिन्न स्थानबाट यदाकदा कारबाइड वर्गका रसायन प्रयोग गरिएका केरा, आँप, कटहर जस्ता फलफूलहरु भित्रिने गरेको विज्ञहरु बताउँछन्।

तर वरिष्ठ बाली संरक्षण अधिकृत तिवारीले स्वास्थ्यका लागि हानिकारक कारबाइड जस्ता रसायनको जाँच गर्न नेपालमा उपकरण नै नभएको बताए।

दुई वर्षअघि तरकारी तथा फलफूलमा अत्यधिक विषादी प्रयोग भएको हुनसक्ने भन्दै चिन्ताहरु व्यक्त भएपछि सरकारले कडाईका साथ विषादी परीक्षण सुरु गरेको थियो।

जाँच

विषादी जाँचलाई प्रभावकारी बनाउन काठमाण्डू उपत्यका प्रवेश गर्ने विभिन्न नाकाहरुमा समेत छड्के जाँच गर्ने गरिएको अधिकारीहरु बताउँछन्।

बजारमा उपलब्ध खाद्य पदार्थको जाँच गर्ने अर्को सरकारी निकाय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, का महानिर्देशक सन्जीवकुमार कर्णका विचारमा काठमाण्डूमा मात्र उपलब्ध विषादी परीक्षण सुविधा देशका अन्य शहरहरुमा पुर्याउनु आवश्यक छ।

“हाम्रा क्षेत्रिय कार्यालयहरुमा केन्द्रमा जस्तो सुविधा पुगेको छैन। पाँचै वटा विकास क्षेत्रमा परीक्षण सुविधाहरु विस्तार गर्न आवश्यक छ।”

नेपालमा सुरुवाती चरणमा रहेको विषादी परीक्षण कार्यक्रमलाई काठमाण्डू बाहिर बाँके, रुपन्देही, कास्की, चितवन र मोरङमा पनि विस्तार गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।

त्यस निम्ति ६ वटा थप विषादी परीक्षण उपकरण विदेशबाट झिकाउने तयारी यसै आर्थिक वर्षमा कार्यान्वयन हुने अधिकारीहरुको अपेक्षा छ।