ब्रिटिश सांसदको हत्या

  • 16 जुन 2016
जो कक्स
Image caption दुईजना पुरुषहरुबीचको झगडा छुट्टाउन जाँदा उनीमाथि प्रहार गरिएको हुनसक्ने बताइएको छ

ब्रिटेनमा विपक्षी लेबर पार्टीकी एक युवा सांसद जो कक्सको हत्या गरिएको छ।

ब्रिटेनको बेटल र स्पेन निर्वाचन क्षेत्रलाई प्रतिनिधित्व गर्ने ४१ वर्षीय सांसद जो कक्समाथि बिहीबार उनकै संसदीय निर्वाचन क्षेत्रमा हमला गरिएको थियो।

हमलाको उद्देश्य स्पष्ट भैसकेको छैन।

प्रहार

प्रत्यक्षदर्शीहरुले उनीमाथि हमलाकारीले गोली प्रहार गरेपछि बारम्बार एउटा चक्कुले प्रहार गरेको जनाएका छन्।

लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।

अस्पतालमै उनको निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीमाथि हमला र हत्याको सिलसिलामा एक ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जनाएका छन्।

प्रारम्भिक विवरणहरुमा दुईजना पुरुषहरुबीचको झगडा छुट्टाउन जाँदा उनीमाथि प्रहार गरिएको हुनसक्ने बताइएको छ।

जोका दुई ससाना बच्चाहरु छन्।

निर्वाचित

उनी गत वर्षमात्रै संसदमा निर्वाचित भएकी थिइन्।

ब्रिटिश प्रधानमन्त्री डेविड क्यामरन तथा विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले सांसद कक्समाथि गरिएको हमलाको निन्दा गरेका छन्।

प्रहरीले सो हमलाका बारे थप अनुसन्धान भैरहेको जनाएका छन्।

जोको हत्याका कारण ब्रिटेन युरोपेली संघमा रहिरहने वा छाडने भन्ने विषयमा आउँदो साता हुनलागेको जनमत संग्रहकालागि भैरहेको चुनावी अभियान स्थगित गरिएको छ।