बेल्जियममा प्रतिआतंकवादी कारवाही

  • 18 जुन 2016
तस्वीर कपीराइट Reuters

सुरक्षा फौजले रातभरी कयौं ठाउँमा गरेको प्रतिआतंकवाद कारवाहीपछि बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिशेलले सबैलाई शान्त रहन अपिल गरेका छन्।

आक्रमणको तयारी गरेको आशंकामा १२ जनालाई गिरफ्तार गरिएको छ।

ब्रसल्समा घातक बम हमलाहरु भएको करिव तीन महिनापछि उनीहरु पक्राउ परेका छन्।

प्रहरीले १६ वटा नगरमा खोजी कारवाही चलाएको थियो।

रातभरीमा पक्राउ गरिएकाहरु आतंकवादी आक्रमणका योजनाकार भएको आशंका गरिएको अभियोजनकर्ताहरुले बताएका छन्।

सोधपुछका निम्ति उनीहरु सहित ४० जनालाई लगिएको थियो।

आशंका

मुख्यतया ब्रसल्स आसपासका नगरहरुमा गरिएको खोजीकार्यका क्रममा १५२ वटा बन्द मोटर ग्यारेजको खानतलासी गरिएको थियो।

प्रधानमन्त्री चार्ल्स मिशेलले सार्वजनिक कार्यक्रममा सुरक्षा सतर्कता बढाइने बताए।

२२ मार्चमा ब्रसल्स विमानस्थल र मेट्रो स्टेशनमा गराइएका बम विष्फोटनमा ३२ जना मारिएका थिए।

बेल्जियमका संघीय अभियोजनकर्ताले एउटा विज्ञप्तिमा कुनै घटना विना पूरा भएको खोजी कारवाहीका क्रममा विष्फोटक पदार्थ र हतियार फेला नपरेको बताएका छन्।

अन्य स्थानहरु जस्तै जिहादीहरुसँग नाम जोडिएका कारण बदनाम ब्रसल्स जिल्लाको मोलनबेयकमा पनि खोजी कारवाही चलाइएको थियो।

संघीय अभियोजनकर्ताको भनाईमा अनुसन्धानहरुले तत्काल हस्तक्षेपको आवश्यकता देखाएपछि उक्त कारवाही थालिएको हो।

तर बेल्जियम सरकारले आतंकवादी हमलाको खतराको स्तर बढाएको छैन।

तस्वीर कपीराइट Reuters

पछिल्ला दिनहरुमा थप आक्रमणका कयौं चेतावनीहरु आएका थिए।

सतर्क

शुक्रवार साँझ प्रधानमन्त्री मिशेल सहित चारजना संघीय मन्त्रीहरुलाई, उनीहरुका परिवार सहित, प्रहरीको उच्च सुरक्षा घेरामा राखिएको समाचार बेल्जियमका संचार माध्यमहरुले प्रकाशमा ल्याएका थिए।

इस्लामिक स्टेट भनिने विद्रोही संगठनका लडाकूको समूह बेल्जियम र फ्रान्समा नयाँ आक्रमण योजना बनाउन सिरिया छाडेर योरोपतर्फ लागेको भन्ने चेतावनी बेल्जियमको प्रहरीले हालैमात्र पाएको बताइएको छ।

नाम नखुलाइएको सुरक्षा श्रोतलाई उद्धृत गर्दै बेल्जियमको पत्रिका डीएचले फ्रेन्च भाषामा समूहले राहदानी बिना डुंगाबाट टर्की र ग्रिस हुँदै योरोप पुग्ने उद्देश्यले डेढ साताअघि सिरिया छाडेको समाचार बुधवार प्रकाशित गरेको थियो।