नक्कली प्रमाणपत्र छानबिन जारी रहन्छ: प्रहरी

  • 18 जुन 2016
तस्वीर कपीराइट PA
Image caption नक्कली प्रमाणपत्रधारी डाक्टरको छानविन जारी रहने बताइएको छ

नक्कली प्रमाणपत्र भएको आरोपमा डाक्टरहरुलाई अपहरणको शैलीमा नियन्त्रणमा लिइएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ।

संघको शनिबार बसेको आकस्मिक बैठकले विरोध स्वरुप प्रहरी प्रमुख र मन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय गरेको छ।

संघका महासचिव डा मुक्ति श्रेष्ठले गिरफ्तारीको शैलीप्रति तीब्र असन्तोष प्रकट गर्दै भने, "विरामी बनेर डाक्टरको कक्षमा पसेर हथकडी लगाउने काम भयो त्यो अमानवीय छ, अपहरणको शैलीमा डाक्टरहरु गिरफ्तार गरिएको छ।"

तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले देशका विभिन्न भागबाट नक्कली प्रमाणपत्रधारीको आरोपमा आज थप डाक्टरहरु गिरफ्तार गरेको बताएको छ।

'सबैको छानबिन'

तर सीआइबी प्रमुख डीआइजी नवराज सिलवालले डाक्टरहरुको आरोप अस्वीकार गरे।

उनी भन्छन्, "हामीले चार महिना लामो अनुसन्धान पछि कानुन सम्मत रुपमा जानकारी दिएर नियन्त्रणमा लिएका हौं। हथकडी लगाएका पनि छैनौं।"

नक्कली प्रमाणपत्रधारी डाक्टरबारे थुप्रै गुनासा आएपछि अनुसन्धान शुरु गरेको र नेपालका सबै डाक्टरको छानबिन गरिने सिलवालले बताए।

उनले नियन्त्रणमा लिइएका सबैलाई अदालतमा उपस्थित गराइने र अदालतले नै अन्तिम निर्णय दिने बताएका छन्।

पाइलटहरुबारे पनि गुनासो आएकाले त्यसमाथि पनि अनुसन्धान भइरहेको सिलवालको भनाइ छ।

डाक्टर, इञ्जिनियर, शिक्षक, कर्मचारी, सेना र प्रहरीमै पनि अनेकौं नक्कली प्रमाणपत्रधारीहरु रहेको बताइन्छ।

सबै निकायका नक्कली प्रमाणपत्रधारीहरुको छानविन हुनुपर्ने माग उठ्दै आएको छ।