खेलाडीमाथिको प्रतिबन्धलाई आईओसीको समर्थन

  • 21 जुन 2016
रुसको प्रतिबन्धित औषधी नियन्त्रण निकाय तस्वीर कपीराइट AP
Image caption अन्तर्राष्ट्रिय ओलम्पिक समिति आईओसीले — हरेक खेलको नियामक निकायले प्रतिबन्धित औषधी परिक्षणका लागि राष्ट्रिय प्रणाली बाहेक अन्य विश्वसनीय जाँच प्रणालीबारे पनि विचार गर्नुपर्ने बताएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले रुसी खेलाडीहरुमाथि प्रतिबन्ध लगाउने विश्व एथलेटिक्सको शासकीय निकाय आईएएएफले अघिल्लो साता गरेको निर्णयको समर्थन गर्ने बताएको छ।

रुसका ट्र्याक एण्ड फिल्ड खेलाडीहरुमाथि राज्यबाट प्रायोजित प्रतिबन्धित औषध प्रयोग गरेको अभियोग लाग्दै आएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आईओसीले रियोमा हुने ओलम्पिक खेलमा प्रतिस्पर्धा गर्नुअघि रुस र केन्याका खेलाडीहरुले अनिवार्य रुपमा थप जाँचहरु गर्नुपर्ने बताएको छ।

प्रतिबन्धित औषधि विरुद्धका नियम पालना नगरेको भनिएका ती देशका खेलाडीहरुलाई सम्बन्धित खेलको अन्तर्राष्ट्रिय संगठनले खेल्न योग्य भएको प्रमाणित गर्नुपर्नेछ।

पाँच बुँदे सहमति

लुजानमा मंगलबार बसेको आईओसीको बैठकले प्रतिबन्धित औषधि विरुद्धका योजनाबारे पाँच बुँदे सहमति गरेको छ।

उक्त बैठकले यी देशका खेलाडीहरु निर्दोष छन् भन्ने पूर्वधारणामाथि गम्भीर प्रश्नमा उठाइने बताएको छ।

प्रतिबन्धित औषधिको विश्वसनीय नियन्त्रणको कमी हुनुको अर्थ हरेक खेलको नियामक निकायले आफ्ना खेलाडीहरुलाई होशियार भएर जाँच गर्नुपर्ने र प्रतिबन्धित औषधि परीक्षणका लागि राष्ट्रिय प्रणाली बाहेक अन्य विश्वसनीय जाँच प्रणालीबारे पनि विचार गर्नुपर्ने आईओसीले बताएको छ।

रुसका ट्र्याक एण्ड फिल्ड खेलाडीहरुले राज्यबाट प्रायोजित प्रतिबन्धित औषधि प्रयोग गरेको अभियोगमा उनीहरुलाई रियोमा हुने प्रतिस्पर्धामा भाग लिन निषेध गरिएको हो।

आईएएएफको निर्णयको सम्मान

उक्त प्रतिबन्धलाई शुक्रबार एथलेटिक्सको शासकीय निकाय आईएएएफले पनि अनुमोदन गरेको थियो।

तर आईएएएफले योग्य प्रमाणित गरेका खेलाडीहरुलाई भने रियोमा खेल्नका लागि आईओसीको प्रस्तावनाले बाटो खोलिदिएको छ।

प्रतिबन्ध लगाउने आईएएएफको निर्णयलाई पूर्ण सम्मान गर्न आईओसी सहमत भएको छ।

प्रतिबन्धित औषधि प्रयोग गरेका सबै खेलाडीहरुलाई ओलम्पिक खेलबाट टाढै राख्न र उनीहरुमाथि तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय ओलम्पिक संगठनहरुलाई आह्वान गर्न पनि आईओसी सहमत भएको छ।

त्यसक्रममा छली गर्ने डाक्टर, प्रशिक्षक र अधिकारीहरुमाथि प्रतिबन्ध लगाउन आईओसी सहमत भएको छ।