'ब्रिटेनको इयु सदस्यताबारे पुन: वार्ता हुनेछैन'

  • 22 जुन 2016
तस्वीर कपीराइट AP
Image caption ब्रिटेनको युरोपेली संघको सदस्यताका सम्बन्धमा पछि कुनै वार्ता वा छलफल नहुने उनले बताएका छन्

युरोपेली आयोगका प्रमुख जं क्लोड युंकरले बिहीबारको राष्ट्रिय जनमत संग्रहपछि ब्रिटेनको युरोपेली संघको सदस्यताबारे पुन: कुनै वार्ता नहुने जनाएका छन्।

ब्रिटेनले युरोपेली संघको सदस्य बनिरहने हो वा परित्याग गर्ने भन्ने विषयमा जनमत संग्रह हुने एकदिन अघि ब्रसल्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युंकरले भने, "प्रधानमन्त्री डेभिड क्यामरनले यो वर्ष केही अघि वार्ताद्वारा हासिल गरेका भन्दा थप कुरा ब्रिटेनले पाउनेवाला छैन।"

निर्णय

युरोपेली आयोगका अध्यक्ष युंकरले यदि ब्रिटेनका जनताले बिहीबार हुने जनमत संग्रहमा ब्रिटेन युरोपेली संघबाट बाहिरिने पक्षमा मतदान गरेमा त्यो नै अन्तिम निर्णय हुने पनि बताए।

त्यसअघि ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले बिहीबार हुने जनमत संग्रहमा मतदाताहरुले ब्रिटेन इयुको सदस्य बनिरहनुपर्छ भन्ने पक्षमा मतदान गरेमा आफूले इयु सदस्य राष्ट्रहरुमाझ स्वतन्त्रतापूर्वक आवागमन गर्न पाइने नियमहरुमा थप परिवर्तनहरु गराउन प्रयास गर्ने बताएका थिए।

त्यसैको जवाफ जस्तो देखिने टिप्पणीमा युरोपेली आयोगका अध्यक्ष युंकरले प्रधानमन्त्री क्यामरनसंग आफूहरुले एक आकारको सहमति गरिसकेको बताए।

समर्थन

युंकरले भने, 2उनले आफूले पाउन सक्ने सम्मका कुरा पाइसकेको छन् र हामीले दिन सक्ने सम्मका कुराहरु दिइ सक्यौं, अब यस विषयमा थप कुराकानी वा मोलमोलाई हुनेवाला छैन।"

उनले बाहिरिने भनेको बाहिरिनु नै हो भनेका छन्।

उनका यी शब्दहरुलाई फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाण्डले पनि दोहो-याएका छन्।

राष्ट्रपति ओलाण्डले भने, "ब्रिटेन इयुबाट बाहिरिने निर्णय भएमा त्यो फेरि उल्टाउन सकिने विषय हुने छैन।"

यसै विषयमा बोल्दै जर्मनीकी चान्सलर एंगेला मर्केलले पनि आफू ब्रिटेनले इयुको सदस्यता कायमै राखोस् भन्ने चाहेको बताएकी छिन्।