'प्रतिबन्धित दुई क्षेप्यास्त्र परीक्षण'

  • 22 जुन 2016
तस्वीर कपीराइट AFP

दक्षिण कोरियाबाट आएका समाचारहरुमा उत्तर कोरियाले दुईवटा प्रतिबन्धित क्षेप्यास्त्रहरुको परीक्षण गरेकोमा पहिलो विफल भएको जनाइएको छ।

समाचारहरुका अनुसार मध्यम दूरी मार हान्ने क्षमता भएका ती क्षेप्यास्त्र दुई घण्टाको अन्तरालमा प्रक्षेपण गरिएका थिए।

जापानी प्रधानमन्त्री शिन्जो आबेले क्षेप्यास्त्र परीक्षण अस्वीकार्य हुने भन्दै उत्तर कोरियाको भर्त्सना गरेका छन्।

लामो दूरी क्षमताको रकेट र परमाणु परीक्षण गरेपछि यसै वर्षको शुरुमा प्योङयाङमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरु थप कडा बनाइएका थिए।

परीक्षण

दक्षिण कोरियाका अधिकारीहरुले दुवै क्षेप्यास्त्रहरु शक्तिशाली रहेको र उनीहरु ३ हजार किलोमिटरसम्म मार हान्न सक्ने क्षमताको रहेको जनाएका छन्।

तस्वीर कपीराइट AFP

यसअघि पछिल्ला दुई महिनामा गरिएका चार अन्य क्षेप्यास्त्र परीक्षण गन्तव्यमा नपुग्दै विस्फोटन भएका थिए या दुर्घटनामा परेका थिए।

परमाणु हतियार कार्यक्रम सञ्चालन गरिरहेको उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघले बलस्टिक क्षेप्यास्त्र प्रविधिको कुनै पनि प्रयोगमा प्रतिबन्ध लगाएको छ।

बुधवार गरिएको दोस्रो क्षेप्यास्त्र परीक्षणको नतिजा स्पष्ट भइसकेको छैन्।

उत्तरका छिमेकी देशहरुले क्षेप्यास्त्र परीक्षण गर्न लागिएको संकेत केहि दिनअघि नै पाएका थिए र त्यस्तो हुनसक्ने चेतावनी दिएका थिए।

‘म्युसुडान’ नाम दिइएको उक्त क्षेप्यास्त्रको क्षमता ३ हजार किलोमिटर रहेको बताइएको छ।

त्यो दक्षिण कोरिया, जपान र गुवामस्थित अमेरिकी सैन्य अड्डालाई निशाना बनाउन आवश्यकभन्दा बढी सामर्थ्य हो।

चिन्ता

तस्वीर कपीराइट AFP

बीबीसीका कोरिया संवाददाता स्टिभ इभान्स भन्छन्, उत्तर कोरियासँग त्यस्ता खालका ५० वटा क्षेप्यास्त्र रहेको ठानिएको छ।

पहिलो क्षेप्यास्त्र ट्रकमा बोकेर परीक्षण गर्ने स्थानमा लगिंदा उत्तर कोरियाका प्रतिद्वन्द्वीहरुले चिन्ता प्रकट गरेका थिए।

जापानले आफ्नो क्षेत्र भएर आए उक्त क्षेप्यास्त्रलाई खसाल्ने चेतावनी दिएको थियो।

पहिलो क्षेप्यास्त्र परीक्षणको विफलताले उत्तर कोरियाले लामो दूरीका लक्ष्यहरुलाई निशाना बनाउन सक्ने परमाणु हतियार भण्डारको विकास गर्ने प्रयासमा भोगिरहेको प्राविधिक संकटलाई उजागार गरेको बीबीसी संवाददाता बताउँछन्।

तर उनी थप्छन् बारम्बार गरिएको परीक्षणले क्षेप्यास्त्र भण्डारको विकासमा सफलता हात पार्न उत्तर कोरिया सकंल्पित रहेको पनि देखाएको छ।