कोलम्बियामा द्विपक्षीय युद्धविराम सम्झौता

  • 23 जुन 2016
तस्वीर कपीराइट EPA

हवानामा ऐतिहासिक शान्ति वार्तालाई निष्कर्षमा पु-याउने क्रममा रहेको कोलम्बिया सरकारले फार्क विद्रोहीहरु हतियार बिसाउन सहमत भएको जनाएको छ।

एउटा संयुक्त वक्तव्यमा दुवै पक्षले ल्याटिन अमेरिकाकै सबैभन्दा लामो सशस्त्र द्वन्द्व अन्त्य गर्नका निम्ति र निःशस्त्रीकरण प्रक्रियालाई टुंग्याउने विषयमा एउटा निर्णायक युद्धविराम सम्झौतामा पुगेको बताएका छन्।

युद्धविरामसम्बन्धी सम्झौताबारे विस्तृत विवरण बिहीबार सार्वजनिक गरिने दुवै पक्षले जनाएका छन्।

सोमबार कोलम्बियाका राष्ट्रपति ख्वाँ म्यानवेल सान्तोसले जुलाइ महिनाको अन्त्यसम्ममा अन्तिम शान्ति सम्झौतामा हस्ताक्षर हुन सक्ने बताएका थिए।

विस्थापित

अन्तिम शान्ति सम्झौताले ५० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य गराउने छ।

पाँच दशकदेखिको द्वन्द्वमा झण्डै दुई लाख २० हजार मानिसहरुले ज्यान गुमाएका छन् भने करीब ७ लाख मानिसहरु विस्थापित भएका छन्।

हवानामा कोलम्बिया सरकारकी प्रवक्ता मार्सेला दुरानले सम्झौता भएका विषयवस्तुमाथि प्रकाश पारेकी थिइन्।

कोलम्बिया सरकार र फार्क विद्रोहीबीच हवानामा तीन वर्षभन्दा बढी समयदेखि शान्ति वार्ता हुँदै आएको छ।

निर्णायक

तस्वीर कपीराइट AP

दुरानले भनिन्, “सरकार र फार्क विद्रोहीका प्रतिनिधिले जनतालाई यो जानकारी गराउँदछौँ कि सफलतापूर्वक द्विपक्षीय निर्णायक युद्धविराम सम्झौता गरेका छौँ। हतियार बिसाउने, सुरक्षाको ग्यारेण्टी दिने र संगठित अपराधविरुद्ध लड्ने विषयमा सहमति गरेका छौँ।”

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै फार्क विद्रोहीका कमाण्डर कार्लोस लोसाथाले भने, “यो भयावह रातको अन्त्य होस् र शान्ति तथा उज्यालोको मार्ग खुलोस् भनेर हामीले जुन २३ तारिख बिहीबार युद्धको अन्तिम दिन भएको घोषणा गर्नेछौँ।”

पछिल्लो युद्धविराम सम्झौताले शान्ति वार्ताको एउटा अन्तिम बुँदालाई सम्बोधन गरेको छ र अब एउटा बुँदामा मात्र सहमति हुन बाँकी छ।

उक्त सम्झौतासँगै शान्ति वार्ताका निम्ति सबैभन्दा ठूलो अड्चनको रुपमा रहेको विद्रोहीहरुलाई निःशस्त्र तुल्याउने मुद्दा सल्टिएको छ।