चीनमा भीषण आँधी

  • 23 जुन 2016
तस्वीर कपीराइट Reuters

चीनको पूर्वी भेगस्थित, जीयांग्सु प्रान्तमा आएको ठूलो आँधीबेहरी र असीना सहितको घनघोर वर्षाका कारण पचासजना भन्दा बढीको मृत्यु भएको चीनको सरकारी समाचार माध्यमले जनाएको छ।

उक्त प्रान्तको यानचेंग शहरका घरहरु नष्ट भएका र दर्जनौं मानिसहरु घाइते भएका पनि सो समाचार माध्यमले जनाएको छ।

सामाजिक संजालहरुमा राखिएका भिडियोहरुमा आँधीबेहरीका कारण कुइरीमण्डल धुलो उडेको, रुखहरु ढलेका र घरहरु भत्किएका देख्‍न सकिन्छ।

पूर्वी चीनको जीयांग्सु प्रान्तमा ठूलै क्षति भएको अनुमान गरिएको छ।

विनाश

पीडित र स्थानीय समाचार माध्यमहरुले खिचेका भिडियोहरुमा, घाइते बालबालिकालाई मोपेडको पछाडि राखेर उपचारका लागि लगिँदै गरेका दृश्यहरु पनि छन्।

केहि अरु भिडियोमा, उद्धारकर्मीहरुले भग्नावशेषमा पुरिएकाहरुलाई खनेर निकालिंदै गरेको देख्‍न सकिन्छ।

अर्को समाचार संस्था एपीका अनुसार, चिनको सरकारी टेलिभिजनले, डुबानमा परेर पल्टिएका मोटरगाडीहरु, ढलेका बिजुलीका खम्बा र सडकबत्तीहरुका दृश्यहरु प्रसारण गरेको छ।

चीनको थुप्रै भागमा यो हप्ता मुसलधारे वर्षा भएको छ।

विपरीत जलवायु अवस्था

केहि दिन अघि मात्र, देशको दक्षिणी भेगमा आएको बाढीका कारण २० जना भन्दा बढीको ज्यान गएको थियो।

दुई लाख भन्दा बढी मानिसहरु विस्थापित भएका पनि सरकारी सञ्चारमाध्यमले जनाएको छ।

बाढीका कारण अनुमानित दुइ अर्ब सात करोड युआन बराबरको आर्थिक क्षति भएको पनि बताइएको छ।

चीनको एकजना उप प्रधानमन्त्री वांग यांगले आफ्नो देशले, एल निन्यो भनिने विपरित जलवायु अवस्थाका कारण चरम र अस्थीर प्रकृतिको मौसम बेहोर्नु परिरहेको बताएका छन्।