कश्मीरका बन्दुक उद्योग धराशायी

  • 23 जुन 2016

गीता पाण्डे

श्रीनगर (कश्मीर), बीबीसी हिन्दी

तस्वीर कपीराइट ABID BHAT

कुनैबेला भारत प्रशासित कश्मीर सर्वसाधारणले खरिद गर्ने बन्दुक उत्पादनको केन्द्र थियो तर मुसलमान बहुत उक्त उपत्यकामा पछिल्ला वर्षहरुमा बन्दुक उद्योग ओरालो लागिरहेको छ।

कामकाजी दिनको मध्य-बिहानी शहरको रैनावारी क्षेत्रमा रहेको जारु बन्दुक उद्योग सुनसान देखिन्छ।

लामो समयसम्म प्रयोग नगरिँदा यहाँका औजारहरुमा धूलो जमेको छ र केही मानिसहरु त्यसै बसिरहेका छन्।

सन् २०१२ सम्म उक्त कारखानाले ५४० वटा एकनाले र दुईनाले राइफल प्रत्येक वर्ष बनाउने गर्दथ्यो र ती सबै विक्री हुने गर्दथे।

चर्चित

कारखानाका तीन मालिकमध्ये एक नाजिर अहमद जारु भन्छन्, “सन् २०१३ मा हामीले २९ वटा बन्दुक मात्रै बेच्न सक्यौँ। पछिल्लो समय वर्षमा एउटा पनि बन्दुक विक्री भएको छैन।”

ओखरका काठले बनेका ती बन्दुकहरुमध्ये कैयौँमा कश्मीरको चर्चित चिनार रुखको पात कुँदने गरिन्थ्यो।

स्थानीय मानिसहरु, शिकारी वा आत्मरक्षाका लागि हतियार राख्न चाहनेहरुका साथै दिल्ली, पञ्जाब र उत्तर प्रदेशका हतियार विक्रेताहरु कश्मीरी बन्दुकका मुख्य ग्राहकहरु थिए।

आजभोलि पुराना त्यस्ता ग्राहक आक्कलझुक्कल शहरमा आउँछन जसको उद्देश्य आफूसँग भएको पुरानो बन्दुक मर्मत गराउनुहुन्छ।

जारुको परिवार मुगलकालदेखि बन्दुक निर्माण पेशमा आवद्ध छ।

स्वतन्त्र

तस्वीर कपीराइट ABID BHAT

उनी भन्छन्, उनका हजुरबुवा सन् १९४७ मा भारत स्वतन्त्र हुनुअघि पूर्व राजा हरि सिंहको निम्तोमा उनका लागि भरुवा बन्दुक निर्माण गरिदिन पाकिस्तानबाट कश्मीर आएका थिए।

अहिलेको कारखाना सन् १९५३ मा उनका पिता गुलाम अहमद जारुले स्थापना गरेका थिए।

त्यहाँका व्यवस्थापक मोहम्मद साफी भन्छन्, “एकताका हामीसँग झण्डै दुई दर्जन कामदार थिए। तीमध्ये कैयौँ स्थानीय थिए। केही धेरै टाढाबाट आएका थिए। कारखानामा राम्रै चहलपहल हुने गर्दथ्यो।”

“उसबेला तपाईं यहाँ आउनुभएको भए हामी तपाईंलाई समय दिन नै नभ्याउने थियौँ र अहिले हामीसँग चाहिए जति समय उपलब्ध छ।”

जारु बन्दुक कारखाना हाल कश्मीर उपत्यकामा सञ्चालनमा रहेको दुईवटा बन्दुक कारखानामध्ये एक हो।

सन् १९४७ अघि त्यहाँ कम्तीमा एक दर्जन करखानाहरु थिए जसमा सयौँ मानिसहरु रोजगारी गर्थे।

स्थानान्तरण

तर समयक्रममा तिनीहरु या त बन्द भए या त राज्यको जम्मु इलाकातिर सारिए।

र त्यसपछि समग्र बन्दुकको बजार नै जम्मुतर्फ सर्यो।

कश्मीरको अर्को बन्दुक उत्पादन कारखाना सुभाना एण्ड सन्सका जहुरु अहमद अहान्गर भन्छन्, “जम्मुमा ३० वटाभन्दा बढी बन्दुक कारखना छन् र उनीहरुको उत्पादन एकदमै बढिरहेको छ, त्यहाँ सयौँ हतियार व्यापारी पनि छन् त्यही भएर भारतको अन्य प्रान्तका हतियार विक्रेता अब हाम्रोमा आउँदैनन्। उनीहरु जम्मु नै जान्छन्।”

तस्वीर कपीराइट ABID BHAT

उनले दुई वर्षमा एउटा पनि बन्दुक विक्री नगरेको उल्लेख गरे।

सन् १९८९ देखि ९१ सम्म दुई वर्ष भारतीय शासनको विरोधमा हिंसात्मक विद्रोह शुरु भएपछि कश्मीरको बन्दुक उद्योगमाथि दुई वर्ष प्रतिबन्ध लगाइएको थियो।

उक्त प्रतिबन्ध सन् १९९२ मा खुलेपनि विक्रेताहरु भन्छन्, उनीहरुले उत्पादन गर्न पाउने बन्दुकको संख्या सीमित गरिएको थियो।

त्यसबेला सुभानालाई ७०० वटाबाट घटाएर ३०० वटा बन्दुकमात्र निर्माण गर्ने अनुमति दिइएको थियो।

सन् १९२५ मा स्थापना गरिएको उक्त उद्योगले शुरुमा तरवार, शिकारीले प्रयोग गर्ने तीर र धारिलो चक्कु बनाउँथ्यो।

सन् १९४२ मा १२ बोरको राइफल निर्माण गर्ने अनुमति पाएपछि उसले बन्दुक बनाउन थालेको हो।

तर अहिले खरिदकर्ता नपाएपछि सो उद्योगका मालिकहरु कारखाना बन्द गर्ने मनस्थितिमा पुगेका छन्।

लज्जा

जारु र अहन्गर भन्छन्, अधिकारीहरुले स्थानीयबासिन्दालाई बन्दुक राख्ने अनुमतिपत्र नदिइनुको कुनै कारण दिएका छैनन्।

तर उनीहरु ठान्छन्, अस्थिर सुरक्षा अवस्था सरकारी आनाकानी मूल कारण हो।

नाजिर अहमद जारोका छोरा बुर्हान जारोका अनुसार सन् २०१३ मा उनीहरुले गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएर बन्दुक उद्योग जोगाउन माग गरेका थिए।

त्यसबेला मद्दत गर्ने प्रतिवद्धता जनाइएपनि कुनै सहयोग नआएको उनले बताए।

उनले थपे, “सुरक्षा निकायको चिन्तामा खासै दम छैन किनभने द्वन्द्व उच्चतम बिन्दुमा पुगेको समयमा पनि चरमपन्थीहरुले हामीलाई कहिल्यै दुःख दिएनन्। उनीहरु हाम्रा थोत्रा हतियारमा इच्छुक छैनन् किनभने उनीहरुसँग धेरै अत्याधुनिक हतियार छन्।”

बन्दुक उद्योगी अहान्गर भन्छन्, “सरकारी निकायहरुले मापदण्ड पुगेका व्यक्तिहरुलाई प्रमाणित गर्दै बन्दुक राख्ने इजाजतपत्र जारी गर्नुपर्छ नत्र अब यो उद्योग सकिन्छ र त्यो हामी सबैका लागि लाजमर्दो विषय हुन जान्छ।”