विश्व नेताहरुबाट मिश्रित प्रतिक्रिया

  • 24 जुन 2016

युरोपेली नेताहरुले, ब्रिटेन युरोपेली संघबाट बाहिरिने पक्षमा जनमत संग्रहको नतिजा आएपछि स्तब्धता व्यक्त गरेका छन्, तर धेरैले यस्बाट अत्तालिनु पर्ने कुनै कारण नभएको बताएका छन्।

युरोपेली परिषदका अध्यक्ष डोनल्ड टस्कले भनेका छन् युरोपेली संघका बांकी सत्ताईस सदस्य राष्ट्रहरु, सो संघको एकता कायम राख्‍न दृढ छन्।

युरोपेली संघको छ वटा संस्थापक सदस्य राष्ट्रका विदेशमन्त्रीहरुले शनिवार एक बैठक गर्ने भएका छन्।

युरोपेली संघका कतिपय नेताहरुले, ब्रिटेन सो संघबाट बाहिरिने पक्षमा भएको मतदानपछि, सो संघभित्र अब सुधार र परिवर्तनका कदमहरु चालिनुपर्ने बताएका छन्।

तर फ्रान्स, नेदरल्याण्ड्स र डेनमार्कमा युरोपेली संघको सदस्यताका आलोचक पार्टीका नेताहरुले भने ति आआफ्नो देशमा पनि युरोपेली संघको सदस्यता कायमै राख्‍ने या नराख्‍ने भन्ने विषयमा जनमत संग्रह हुनु पर्ने माग गरेका छन्।