नारायणगढ–मुग्लिन खण्डमा समस्या

  • 24 जुन 2016
तस्वीर कपीराइट .

पहिरो गएर बेला-बेला सवारी आवागमन अवरुद्ध हुँदै आएको राजधानी जोडने मुख्य सडक नारायणगढ–मुग्लिन खण्डमा यो वर्षायामभरिनै यात्रुले समस्या भोग्नुपर्ने अधिकारीहरुले बताएका छन्।

सडक चौडा बनाउने काम भइरहेका कारण पानी पर्नासाथ पहिरो आउने क्रम निरन्तर चलिरहने उनीहरु बताउँछन्।

तर सडक विभागले लामो समयसम्म अवरुद्ध नहुने गरी सडक खुलाउने व्यवस्था मिलाइएको छ।

राजधानीसँग देशका विभिन्न जिल्लाहरुलाई जोडने मुख्य सडकको रुपमा रहेको नारायणगढ बाट मुग्लिन हुँदै काठमान्डू आउने सडकअन्तर्गत नारायणगढ–मुग्लिन खण्डमा यात्रा गर्ने यात्रुहरुले पछिल्ला दिनमा सास्ती भोग्नु परिरहेको छ।

आवतजावत

हजारौंको संख्यामा दैनिक सवारीसाधन आवतजावत हुने उक्त सडकमा दिनहुँजसो जाने पहिरोका कारण यात्रुहरुले यात्राको लामो समय त्यही खण्डमा बिताउनुपरेको गुनासो गर्ने गरेका छन्।

करिब ३६ किलोमिटर लामो उक्त सडकखण्ड केही महिना पहिलेदेखि चौडा गर्ने काम भइरहेकाले पहिरोको समस्या देखिएको सो सडकखण्डको निर्माण आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए।

उनले भने, “पहिले स्थिर भइसकेको सडकलाई हामीले फेरि खन्यौँ जबसम्म हामी सबै निर्माणको काम सक्दैनौँ तबसम्म पहिरोले दुःख दिइरन्छ।”

हाल ५ देखि साढे पाँच मिटरको चौडाइ रहेको उक्त सडकलाई ९ देखी ११ मिटरसम्म चौडा बनाइने बताइएको छ।

जसको २० प्रतिशत काम भइसकेको र बाँकी काम सकिन अझै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ।

हाल दैनिक नयाँ-नयाँ ठाँउबाट गइरहेका पहिरोमध्ये मुग्लिनदेखि केही दक्षिणको चार किलो भन्ने ठाँउमा आएको पहिरो ठूलो रहेको यादवले बताए।

विकल्प

३ खण्डमा सडक निर्माणको काम गरिरहेका कम्पनीहरुका उपकरणलाई पहिरो हटाउने कामका लागि उक्त सडक क्षेत्रका विभिन्न भागमा राखिएको र हाललाई पहिरो हटाउँदै यात्रा गर्नुको विकल्प नभएको बताउँछन् सडक विभागका महानिर्देशक माधव कार्की।

उनले भने, “पहिरोको मात्रा हेर्दा कुर्नुको अर्को विकल्प छैन, हामीले भन्नैपर्ने हुन्छ कि पहिरो आएपछि केही घण्टा सडक अवरुद्ध हुन्छ, हामीले उपकरणहरुलाई त्यही राखेर पहिरो पन्छाउने र सडक खोल्ने काम मात्रै गर्न सक्छौँ।”

देशका विभिन्न भागहरुलाई राजधानीसँग जोडने प्रमुख सडकमा दैनिकरुपमा आवगमनमा समस्या देखिपछि यसलाई सहज पार्न के गर्न सकिन्छ भन्ने विषयमा क्षेत्रीय प्रशासन कार्यालयले शुक्रबार नारायणगढमा सरोकारवाला निकायबीचको बैठक बोलाएको छ।

जसमा आवागमनलाई सहज बनाउन गर्न सकिने अधिकतम प्रयासको खोजी हुने बताइएको छ।

सरकारले अत्यधिक सवारी चाप रहने उक्त सडकको विकल्पकारुपमा नारायणी नदी पारिपट्टीको किनारै किनार राजधानी जोड्ने अर्को सडकको निर्माणको योजना पनि अघि सारेको छ।

जुन सडकको निर्माणको काम आगामी आर्थिक वर्षदेखि नै शुरु गर्ने तयारीमा रहेको सडक विभागले जनाएको छ।